टोकियो । हालै प्रचलनमा ल्याइएको नयाँ प्रकारको आवासीय परिचय पत्र (रेसिडेन्स कार्ड) को बारेमा प्रहरी अधिकारीहरू अनभिज्ञ हुँदा बिहीबार एक नेपाली युवक झुक्किएर पक्राउ परेका छन् । उनलाई करिब एक घण्टा हिरासतमा राखेपछि प्रहरीले रिहा गरेको थियो ।
प्रहरीका अनुसार बिहीबार बिहान टोकियोको शिबुया वार्डको सडकमा प्रहरी अधिकारीहरूले ती २० वर्षका युवकलाई सोधपुछ गर्दै आफ्नो परिचय पत्र देखाउन भनेका थिए ।
ती युवकले आफ्नो रेसिडेन्स कार्ड निकालेर देखाएका थिए । तर प्रहरी अधिकारीहरूले उक्त कार्ड नक्कली भएको ठानेर उनलाई घटनास्थलमै पक्राउ गरेका थिए ।
त्यसपछि ती नेपाली युवकलाई प्रहरी चौकीमा लगिएको थियो । जहाँ अर्का एक प्रहरी अधिकारीले उनले बोकेको कार्ड जुन १४ देखि जारी हुन थालेको नयाँ प्रकारको वैधानिक रेसिडेन्स कार्ड भएको कुरा पत्ता लगाएका थिए ।
महानगरीय प्रहरी विभागले नयाँ रेसिडेन्स कार्ड जारी भएको सम्बन्धमा पटक–पटक सचेतना जगाउँदा जगाउँदै पनि यो घटना घटेको हो ।
‘हामी साँच्चै दुःखी छौँ र हृदयदेखि नै माफी चाहन्छौँ,’ प्रहरीले भनेको छ । साथै उनीहरूले आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिने प्रतिबद्धता समेत जनाएका छन् ।


