टोकियो । दुईवटा शक्तिशाली समुद्री आँधी (टायफुन) देशतर्फ नजिकिँदै गर्दा भारी वर्षा हुनसक्ने जापानको मौसम विज्ञान निकायले चेतावनी दिएको छ ।
दक्षिण–पश्चिमीदेखि पूर्वी जापानको प्रशान्त महासागरीय तटीय क्षेत्रमा आगामी केही दिनसम्म भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।
टोकियो र ओसाकाबीच चल्ने ‘शिन्कान्सेन’ (बुलेट ट्रेन) सञ्चालन गर्ने कम्पनी जेआर सेन्ट्रलका अनुसार आँधी ‘मेक्खाला’ नजिकिएसँगै शनिबार बिहानैदेखि केही रेल सेवाहरू रद्द वा ढिलो हुन सक्नेछन् ।
यो वर्षको सातौँ आँधीको रूपमा रहेको ‘मेक्खाला’ बिहीबार साँझ ओकिनावा प्रिफेक्चरको मियाको टापुभन्दा दक्षिण–पूर्वमा थियो । यो शनिबार आसपाससम्ममा जापानी द्वीपसमूहको प्रशान्त तटीय क्षेत्रमा पुग्ने अनुमान गरिएको छ ।
यसका साथै अर्को आँधी ‘हिगोस’ पनि फिलिपिन्सको पूर्वी समुद्री क्षेत्रबाट उत्तरतर्फ बढिरहेको छ ।
मौसमी वर्षा गराउने वायुको प्रभाव र न्यून चापीय प्रणालीका कारण बिहीबार पश्चिमी जापानमा मुसलधारे वर्षा भएको थियो भने यी दुई आँधीका कारण वर्षा अझै थपिने अनुमान गरिएको छ ।
जापान मौसम विज्ञान निकायले पहिरो जान सक्ने र नदीहरूमा बहाव बढ्न सक्ने जोखिम औंल्याउँदै ओकिनावा र अमामी टापुजस्ता क्षेत्रका बासिन्दाहरूलाई विनाशकारी हावाहुरीबाट सतर्क रहन आग्रह गरेको छ ।
अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार भारी वर्षाका कारण यामागुची र फुकुओका जस्ता पश्चिमी तथा दक्षिण–पश्चिमी प्रिफेक्चरका लाखौँ मानिसहरू सुरक्षित स्थानमा सर्ने आदेशबाट प्रभावित भएका छन् ।
भारी वर्षाका कारण वरपरका सडकहरू बन्द भएपछि टोयोटा मोटर कर्पोरेसनले फुकुओका प्रिफेक्चरमा रहेको आफ्नो एउटा प्लान्ट बिहीबार साँझदेखि शुक्रबार दिउँसोसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।
यसैबीच, आँधीकै कारण ग्राउन्ड सेल्फ–डिफेन्स फोर्सले बिहीबार मियाको टापुका लागि तय गरिएको ‘भी–२२ ओस्प्रे’ सैन्य विमानको उडान रद्द गरेको छ ।
यो उडान सफल भएको भए जीएसडीएफको ओस्प्रे विमान पहिलोपटक यस टापुमा अवतरण हुने थियो । टापुहरूको रक्षा क्षमता बढाउन अमेरिकी मरीन कप्र्ससँग भइरहेको ‘रेसोल्युट ड्रागन’ संयुक्त सैन्य अभ्यासको यो एक हिस्सा थियो ।
शनिबार सोही टापुमा हुने भनिएको सैन्य प्रशिक्षण पनि मौसमको अवस्था हेरेर परिवर्तन हुन सक्ने जनाइएको छ ।


