अर्जेन्टिना र फ्रान्स विश्वकपको नकआउट चरणमा

|

टोकियो । साविक विजेता अर्जेन्टिना र साविक उपविजेता फ्रान्स जारी विश्वकपका लगातार दुई खेल जित्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

अर्जेन्टिनाले लगातार जित निकाल्ने क्रममा अस्ट्रियालाई २–० ले हरायो भने फ्रान्सले इराकमाथि ३–० को जित निकाल्यो ।

अर्जेन्टिनाको जितमा फेरि एकपटक कप्तान लियोनल मेस्सी नायक बने । उनले खेलका ३८औं र दोस्रो हाफको अतिरिक्त समयमा गोल गरे । त्यसअघि खेलको नवौं मिनेटमै पाएको पेनाल्टीमा भने उनी गोल गर्न चुकेका थिए ।

यो जितसँगै अर्जेन्टिना समूह जेमा ६ अंक जोडेर अघिल्लो चरणमा पुगेको छ । अस्ट्रियाको भने २ खेलबाट ३ अंक भएको छ ।

फ्रान्स पनि लगातार दोस्रो जितसँगै विश्वकपको नकाउट चरणमा प्रवेश गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा फ्रान्सले इराकलाई ३–० गोल अन्तरले हराएको हो ।

फ्रान्सको जितमा किलियन एम्बाप्पेले २ गोल गरे भने एक गोल उस्मान डेम्बेलेले गरेका थिए ।

पहिलो हाफको १४औं मिनेटमा कप्तान एम्बाप्पेले गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर भारी वर्षा र चट्याङ परेपछि खेल करिब दुई घण्टा रोकिएको थियो ।

वर्षाले स्थगित भएको खेल पुनः सुचारु भएलगत्तै खेलको ५४औं मिनेटमा एम्बाप्पेले अग्रता दोब्बर पारे भने ६६औं मिनेटमा उस्मान डेम्बेलेले गोल गरेपछि फ्रान्स ३–० ले विजयी भयो ।

योसँगै फ्रान्सको ६ अंक भएको छ भने पहिलो खेलमा नर्वेसँग पराजित भएको इराक अंकविहीन छ ।