विश्वकपमा जापानको दोस्रो खेललाई टोकियोबाट ३०.२ प्रतिशत ‘भ्युअरसिप’

|

टोकियो । विश्वकप फुटबलमा जापानले आइतबार ट्युनिसियाविरुद्ध प्रभावशाली जित निकाल्यो । यो जितले जापानको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो भएकाले उत्सव जस्तै बन्यो ।

विश्वकप अन्तर्गत समूह ‘एफ’ को पहिलो खेलमा नेदरल्याण्ड्ससँग २–२ गोलको बराबरी खेलेकाले पनि जापानलाई अघिल्लो चरणमा प्रवेश गर्न ट्युनिसियाविरुद्धको खेल महत्वपूर्ण थियो ।

जुन खेल हेर्न ठूलो संख्यामा जापानी समर्थक रंगशालामा पुगेका थिए । तर जापानमै बसेर पनि अत्यधिक समर्थकले पर्दामा ट्युनिसियाविरुद्धको खेल हेरेका छन् ।

जापानको दोस्रो खेलको टेलिभिजन प्रसारणलाई टोकियो वरपरको कान्तो क्षेत्रमा औसत ३०.२ प्रतिशत दर्शक मिलेको एक अनुसन्धान संस्थाले सोमबार जनाएको छ ।

‘भिडियो रिसर्च लिमिटेड’ द्वारा सार्वजनिक गरिएको प्रारम्भिक तथ्यांकअनुसार निप्पोन टिभी र यसका आबद्ध स्टेशनहरूबाट आइतबार दिउँसो १ बजेदेखि प्रसारण भएको उक्त खेललाई ओसाका केन्द्रित कान्साई क्षेत्रमा औसत ३०.५ प्रतिशत रेटिङ प्राप्त भएको थियो ।

मेक्सिकोमा भएको उक्त खेलमा जापान ४–० ले विजयी भएको थियो । यो खेल सार्वजनिक प्रदायक एनएचकेको बीएस स्याटेलाइट च्यानल र अनलाइन स्ट्रिमिङ सेवा ‘डाजोन’ लगायतका अन्य माध्यमहरूबाट पनि उपलब्ध गराइएको थियो ।

‘एस्टाडियो मोन्टेरे’ रङ्गशालामा भएको खेल दिउँसो ३ बजेभन्दा केही समयअघि सकिने क्रममा निप्पोन टिभीको प्रसारणको भ्युअरसिप कान्तो क्षेत्रमा अधिकतम ३७ प्रतिशत र कान्साई क्षेत्रमा ३७.५ प्रतिशत पुगेको थियो ।