कारभित्र आमा र १ वर्षीया छोरी मृत फेला, आत्महत्याको आशंका

|

आइची। जापानको आइची प्रिफेक्चरको इनुयामा सहरमा एउटा कारभित्र ४३ वर्षीया एक बेरोजगार महिला र उनकी एक वर्षीया छोरीको शव फेला परेको छ ।

प्रहरीले आमाले छोरीको हत्या गरी आफूले आत्महत्या गरेको हुन सक्ने आशंका गरेको छ । एनटीभीको रिपोर्ट अनुसार मृतक आमा र छोरी गिफु प्रिफेक्चरको कानी सहरका बासिन्दा थिए ।

उनीहरूको शव आइतबार बिहान करिब १२ः२५ बजे एउटा पार्किङ स्थलमा रोकिराखेको सानो यात्रुवाहक गाडीभित्र फेला परेको थियो ।

प्रहरीका अनुसार कार भित्रबाट लक गरिएको थियो र झ्यालहरू पनि भित्रैबाट पूर्ण रूपमा बन्द गरिएका थिए । गाडीको भुइँमा कोइलाको अँगेठो र बलेको कोइलाका टुक्राहरू फेला परेका थिए । मृतक दुवैको शरीरमा बाहिर देखिने कुनै चोटपटक थिएन ।

शनिबार परिवारका सदस्यहरूले उनीहरू हराएको भन्दै उजुरी दिएपछि गिफु प्रिफेक्चरल प्रहरीले ती महिला र बालिकाको खोजीका लागि अनुरोध जारी गरेको प्रहरीले जनाएको छ ।