
टोकियो। जापानको टोकियोस्थित इतावाशी क्षेत्रमा आगामी अप्रिल ११ र १२ तारिखमा दोश्रो ‘इतावाशी नेपाल फेस्टिवल २०२६’ आयोजना हुने भएको छ।
म्याग्दी मोना जापानको आयोजनामा हुने उक्त फेस्टिवल इतावाशी–कुस्थित अकाचुका कोएनमा सञ्चालन गरिनेछ। नेपाली संस्कृति, खानपान र विविध मनोरञ्जनात्मक गतिविधि प्रस्तुत गर्दै कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
दुई दिनसम्म चल्ने फेस्टिवलमा नेपाली परिकार, सांस्कृतिक नृत्य–संगीत, स्टेज प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम रहनेछन्। कार्यक्रममार्फत नेपाली मौलिकता झल्काउँदै जापानी समाजसँग सांस्कृतिक आदान–प्रदान विस्तार गर्ने लक्ष्य राखिएको छ।
फेस्टिवल पहिलो दिन शनिबार बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म र दोस्रो दिन आइतबार बिहान ११ बजेदेखि साँझ ५:३० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा प्रवेश निःशुल्क रहने जनाइएको छ।
कार्यक्रमका मुख्य प्रायोजक ददीवाल खड्का रहेका छन् भने यहे रेमिट इभेन्ट पार्टनरको रूपमा जोडिएको छ। साथै, नेपाली राजदूतावासको विशेष सहयोगसमेत रहने बताइएको छ।
विभिन्न संघ–संस्था र समुदायको सहकार्यमा आयोजना हुने यस फेस्टिवलमा नेपाली तथा जापानी दर्शकको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले सबैलाई कार्यक्रममा सहभागी भई नेपाली संस्कृति प्रवर्द्धनमा साथ दिन आग्रह गरेको छ।
गत वर्ष पनि म्याग्दी मोना जापानले इतावाशीमा ‘नेपाल फेस्टिवल’ सफलतापूर्वक आयोजना गरेको थियो।


