
टोकियो। जापानलाई कर्मथलो बनाएर लामो समयदेखि सामाजिक, व्यावसायिक तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियानमा सक्रिय रहँदै आएका समाजसेवी तथा व्यवसायी दधिबल खड्काले एनआरएनएको आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
विदेशमा बसोबास गर्ने नेपालीहरूको अधिकार संरक्षण, नेपालमा लगानी प्रवर्द्धन र विश्वभर फैलिएको नेपाली समुदायलाई एकताबद्ध गर्ने उद्देश्यका साथ आफूले २०२५/२७ कार्यकालका लागि खड्काले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
जापानस्थित नेपाली समुदायमा सक्रिय र परिचित व्यक्तित्वका रूपमा चिनिने खड्काले आफूलाई एनआरएनए अभियानको ‘सक्रिय अभियन्ता’ का रूपमा प्रस्तुत गर्दै संस्थालाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
एनआरएनए अभियन्ता खड्काका अनुसार एनआरएनए केबल विदेशमा बस्ने नेपालीहरूको संगठन मात्र नभई नेपाल र विश्वभर रहेका नेपालीहरूबीच सम्बन्धको सशक्त सेतु हो । त्यसैले संस्थाको नेतृत्वले विश्वभरका नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता रहेकोमा उनको जोड छ ।
खड्का विगत डेढ दशकदेखि गैरआवासीय नेपाली संघको गतिविधिमा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्। जापानमा रहेका नेपालीहरूको विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रममा खड्काले अग्रपंक्तिमा रहेर सहयोगी भूमिका निर्वाह गर्दै आएका छन्।
विशेष गरी जापानमा आयोजना हुने नेपाल फेस्टिबल, सांस्कृतिक कार्यक्रम, सामाजिक अभियान, विपद् राहत सहयोग तथा समुदायिक कार्यक्रमहरूमा खड्काको सक्रियता उल्लेखनीय मानिन्छ ।
जापानमा नेपाली समुदाय विस्तार हुँदै जाँदा खड्का नेपाली समुदायबीच समन्वय गर्ने, नयाँ पुस्तालाई सामाजिक गतिविधिमा जोड्ने तथा नेपाली संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने काममा पनि सक्रिय रहँदै आएका छन्।
समाजसेवी व्यक्तित्वको रुपमा परिचित खड्काले विभिन्न अवसरमा विदेशमा रहेका नेपालीहरूले आफू बसेको देशमा मात्र होइन, मातृभूमि नेपालको विकासमा पनि योगदान गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका थिए ।
उनले जापानमा व्यवसाय विस्तार गर्दै नेपाली समुदायका लागि रोजगारी र अवसर सिर्जना गर्ने प्रयास गर्दै आएका छन्।
साथै उनी जापानका रहेका नेपाली व्यवसायीहरुको संस्था नेपाली व्यवसायी संघ जापानको वरिष्ठ उपाध्यक्ष लगायत विभिन्न संघसंस्थासँग पनि आबद्ध रहँदै आएका छन् ।
व्यावसायिक क्षेत्रमा सक्रिय भए पनि उनले सामाजिक सेवामा विशेष प्राथमिकतासहित आफूलाई समर्पित गर्दै आएका छन्।
एनआरएनए उपाध्यक्ष उम्मेदवार खड्काले अघि सारेका प्रमुख एजेन्डाहरू
१. विदेशमा रहेका नेपालीहरूको अधिकार संरक्षण
विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूले भोग्ने कानुनी, सामाजिक तथा प्रशासनिक समस्याहरू समाधान गर्न एनआरएनएलाई अझ सक्रिय बनाउने ।
२. नेपालमा लगानी र विकास प्रवर्धन
विदेशमा रहेका नेपालीहरूको सीप, अनुभव र पूँजीलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन पहल गर्ने।
३. युवा पुस्तालाई एनआरएनए अभियानमा जोड्ने
विदेशमा जन्मिएका वा हुर्किएका दोस्रो पुस्ताका नेपाली युवाहरूलाई एनआरएनए अभियानमा सहभागी गराउने र उनीहरूलाई नेपाली पहिचानसँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने।
४. संस्थागत पारदर्शिता र एकता
एनआरएनएभित्र देखिने आन्तरिक विवाद र विभाजनलाई अन्त्य गर्दै संस्थालाई एकताबद्ध र पारदर्शी बनाउने।
५. विश्वभरका नेपाली समुदायबीच सहकार्य
एनआरएनए अन्तर्गत रहेका विभिन्न देशका राष्ट्रिय समन्वय परिषदहरूबीच सहकार्य र अनुभव आदानप्रदानलाई अझ मजबुत बनाउने।
लामो सामाजिक अनुभव, व्यवसायिक पृष्ठभूमि र एनआरएनए अभियान प्रतिको प्रतिबद्धताका कारण धेरै प्रतिनिधिहरूले उनलाई सक्षम नेतृत्वका रूपमा हेरिरहेको बताइन्छ ।
गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन यहि मार्च १४ देखि १६ तारिखसम्म काठमाडौंमा आयोजना हुँदैछ ।

