प्रधानमन्त्री सानाए ताकाइचीको दललाई दुई तिहाई बहुमत

टोकियो । जापानमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले तल्लो सदनमा दुई तिहाई बहुमत हासिल गरेको छ ।

आइतबार भएको निर्वाचनमा एलडीपीले संसदका ४६५ मध्ये ३१६ सिट हासिल गरेको हो । योसँगै प्रधानमन्त्री ताकाइचीका नीतिलाई जनताले अनुमोदन समेत गरेका छन् ।

यो जितले जापानमा उनका नीति लागू गर्न सहज हुनेछ भने संसदमा पकड पनि बलियो बनेको छ । अब जापानको संसदमा एलडीपीसँगै उसको सत्ता साझेदार जापान इनोभेसन पार्टी’ (जेआईपी) को अब सदनमा पूर्ण बर्चस्व रहने छ ।

यो निर्वाचनमा प्रमुख प्रतिपक्षी सेन्ट्रिस्ट रिफर्म एलायन्सले भने ठूलो धक्का व्येहोरेको छ । उसले निर्वाचनबाट आधा सिट गुमाउन पुगेको छ ।

प्रधानमन्त्री ताकाइचीले निर्वाचनले एलडीपीका नीतिहरुलाई अनुमोदन गरेको उल्लेख गर्दै जनतासँग गरिएका बाचा पूरा गर्ने र देशको रक्षा क्षमतालाई थप सुदृढ बनाउने बताएकी छिन् ।

उनले आफूहरुले जिम्मेवार र सक्रिय वित्तीय नीतिमा निरन्तर जोड दिँदै आएको उल्लेख गर्दै वित्तीय नीतिको दिगोपनलाई प्राथमिकता दिने तथा आवश्यक लगानी सुनिश्चित गर्ने प्रतिबद्धता जनाएकी छन् ।

विशेषगरी बढ्दो महँगी नियन्त्रण गर्न खाद्यान्नमा लाग्ने ८ प्रतिशत उपभोग कर दुई वर्षका लागि हटाउने उनको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?