जापानमा ३३७ प्रहरी अधिकारीमाथि अनुशासनको कारबाही

टोकियो । जापानको राष्ट्रिय प्रहरी एजेन्सीले सन् २०२५ मा देशभरका ३३७ जना प्रहरी अधिकारी तथा अन्य प्रहरी कर्मचारीहरूलाई अनुशासनात्मक कारबाही गरिएको जनाएको छ । 

यो संख्या अघिल्लो वर्षको तुलनामा ९८ जनाले बढी हो भने पछिल्लो १० वर्षयताकै सबैभन्दा धेरै पनि हो । 

यीमध्ये ६४ जनालाई पक्राउ गरिएको राष्ट्रिय प्रहरी एजेन्सीले जनाएको छ ।

एउटा यस्तो हाईप्रोफाइल हत्याको घटना बाहिर आएको छ कि त्यो घटनामा हत्या गरिएकी महिलाले आफूलाई कुनै व्यक्तिले पछ्याइरहेको ९ पटकसम्म प्रहरीमा उजुरी गरेकी थिइन् । तर प्रहरीले समयमै घटनालाई गम्भीरतापूर्वक लिएन । अन्ततः उनलाई त्यही व्यक्तिले हत्या गरेको थियो । 

यस घटनासम्बन्धी लापरबाहीका कारण कानागावा प्रिफेक्चरल प्रहरीका पाँच जना अधिकारीलाई अनुशासनात्मक कारबाही गरिएको थियो ।

अनुशासनात्मक कारबाहीको सबैभन्दा सामान्य कारण ‘विपरीत लिङ्गसँगको सम्बन्ध’ समेत रहेको छ । जसमा यौन दुव्र्यवहार, झ्याल–झ्यालबाट हेर्ने (भोयोरिज्म) जस्ता गतिविधि तथा अनुपयुक्त डेटिङ समावेश छन् । यस्तो अपराधमा १०४ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् । 

यसपछि चोरी, ठगी तथा अपचलनको कारण ६३ जना, कर्तव्यमा लापरबाही तथा बेवास्ता गरेका कारण ४४ जना प्रहरी कर्मचारीलाई अनुशासनात्मक कारबाही गरिएको छ ।

उनीहरुलाई अनुशासनात्मक कारबाहीका रुपमा बर्खास्ती, निलम्बन, तलब कटौतीदेखि चेतावनी सम्म दिएर छाडिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?