
टोकियो । अर्घाखाची समाज जापानको पहिलो बैठकले नेपाली नयाँ वर्ष २०८३ का अवसरमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
आइतबार टोकियोको ओकुबोमा बसेको नयाँ कार्यसमितिको पहिलो बैठकले वार्षिक कार्ययोजना प्रस्तुत गर्दै आगामी अप्रिल १२ तारिखमा नेपाली कलाकारको साथमा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।
बैठकले समाजका गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यले ६ वटा विभाग गठन गरी जिम्मेवारी तोकिएको समाजका महासचिव अबिनाश जिसीले जानकारी दिए ।
जसमा सदस्यता वितरण तथा अभिलेखीकरण विभाग, प्रचार–प्रसार तथा प्रकाशन विभाग, क्षेत्रीय समिति समन्वय तथा विस्तार विभाग, महिला विभाग, आर्थिक विभाग, युवा तथा विद्यार्थी विभाग गठन गरेको छ ।

त्यस्तै समाजले अर्घाखाँची जिल्लामा त्यहाको अवस्था र आवश्यकतालाई बुझेर स्वास्थ्य शिविर सञ्चालन गर्ने समाजका अध्यक्ष टोपबहादुर घर्ती मगरले बताए ।
बिगतका कार्यक्रमको निरन्तरता दिदै बीबीक्यु, तीज कार्यक्रम, देउसी भैलो, अक्षयकोष वृद्धि, आर्थिक समन्वय समितिलाई थप व्यवस्थित गर्ने अध्यक्ष मगरले जानकारी दिए ।
अक्षयकोष वृद्धिका लागि हाल कायम रहेका ९४ जना आजीवन सदस्य संख्यालाई बढाएर एक वर्षभित्र १५० जना पुर्याउने लक्ष्य रहेको समाजका कोषाध्यक्ष निरञ्जन खड्काले जानकारी दिए ।
त्यसैगरी समाजको पहिलो बैठकले सल्लाहकार समितिमा सोम थापा र मनिष खनाललाई मनोनित गरेको छ ।







