
टोकियो । जापानमा विदेशी कामदारको संख्या ऐतिहासिक रूपमा बढेको छ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२५ को अक्टोबर अन्त्यसम्म देशभर विदेशी कामदारको संख्या करिब २५ लाख ७१ हजार पुगेको छ।
यो अघिल्लो वर्षको तुलनामा ११.७ प्रतिशतले बढी हो र लगातार १३ वर्षदेखि नयाँ रेकर्ड कायम भएको बताइएको छ।
विशेषज्ञहरूका अनुसार घट्दो जनसंख्या र तीव्र श्रम अभावका कारण जापान विदेशी कामदारमा झन् निर्भर बन्दै गएको छ।
हाल विदेशी कामदारहरू कुल श्रमशक्तिको झन्डै ३.८ प्रतिशत बराबर छन् ।र विदेशी कर्मचारी राख्ने कार्यस्थलहरूको संख्या पनि रेकर्ड स्तरमा पुगेको छ।
राष्ट्रियता अनुसार हेर्दा भियतनाम सबैभन्दा ठूलो समूह बनेको छ । त्यसपछि चीन, फिलिपिन्स, नेपाल र इन्डोनेशियाका कामदारहरू रहेका छन्।
यी तथ्यांक सार्वजनिक भएको एक सातापछि प्रधानमन्त्री सानाए ताकाइचीको सरकारले विदेशी बासिन्दा र आगन्तुकसँग सम्बन्धित नयाँ नीति प्याकेज घोषणा गरेको छ।
यसअन्तर्गत नियम कडाइ गर्नुका साथै जापानी भाषा कक्षामा पहुँच सुधार गर्ने योजना रहेको बताइएको छ।
विदेशी कामदारको तीव्र वृद्धि आगामी चुनावअघि आप्रवासन नीतिलाई प्रमुख राजनीतिक बहसको विषय बनाएको छ । किनकि जापानको अर्थतन्त्र उनीहरूमाथि बढ्दो रूपमा निर्भर हुँदै गएको छ।







