फुकुओका । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रीय कार्यसमिति क्युस्युको आयोजनामा प्रत्येक वर्ष नेपाली नयाँ वर्षको अवसरमा आयोजना हुँदै आएको नेपाल फेस्टिवल फुकुओका २०२६ आगामी अप्रिल १८ र १९ मा फुकुओकाको तेन्जीन सेन्ट्रल पार्कमा आयोजना हुने भएको छ।
फुकुओका नेपाल सोसाइटी, आदिवासी जनजाति महासंघ क्युस्यु लगायत क्युस्युस्थित विभिन्न संघ संस्था तथा जापानी निकायहरूको सहकार्यमा फेस्टिवल आयोजना गर्न एनआरएनए क्युस्युका संयोजक कृष्णहरी पाठकको संयोजकत्वमा फेस्टिवल आयोजक समिति गठन गरिएको आयोजकले जनाएको छ।

फेस्टिवल संयोजक पाठकका अनुसार, नेपाल फेस्टिवलले नेपालको कला, संस्कृति, भेषभूषा, पहिचान र पर्यटन प्रवर्द्धनसँगै नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ। “नेपाल, जापान तथा जापानमा रहेका अन्य देशका नागरिकलाई नेपालसँग जोड्ने उद्देश्यलाई अझ प्रभावकारी बनाउँदै यस पटकको फेस्टिवल भव्य रूपमा सम्पन्न गर्ने तयारीमा छौँl” उनले बताए।
दुई दिनसम्म चल्ने फेस्टिवलमा नेपाली, जापानी र अन्य देशका नागरिक गरी करिब १५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। फेस्टिवल सचिव सूर्य कुवरका अनुसार कार्यक्रममा नेपालको पहिचान झल्किने पर्यटकीय गन्तव्यहरूको जानकारी, नेपाली खानाका स्टलहरू तथा जापानी निकायका विभिन्न जानकारीमूलक स्टलहरू समेत रहने छन्।
फेस्टिवललाई अझ व्यवस्थित बनाउन आवश्यक विभिन्न उपसमितिहरू गठन गर्ने उद्देश्यले २०२६ जनवरी १८ (आइतबार) वृहत बैठक आयोजना गर्ने तयारी गरिएको आयोजक समितिले जनाएको छ। बैठकको स्थान र समय बारे जानकारी नेपाल फेस्टिवल फुकुओकाको आधिकारिक फेसबुक पेज मार्फत सार्वजनिक गरिने भन्दै उपस्थितिका लागि आयोजकले अनुरोध गरेका छन्।
नेपाल फेस्टिवलको सुरुवात सन् २०११ मा ‘बैसाखे मेला’को नामबाट भएको थियो। हालसम्म आइपुग्दा यो कार्यक्रम १२औँ संस्करणमा प्रवेश गरिसकेको छ। फेस्टिवल संस्थापक संयोजक तथा फुकुओका नेपाल सोसाइटीका पूर्व अध्यक्ष रामकृष्ण श्रेष्ठले नेपाल र जापान बीच सम्बन्ध जोड्ने पुलका रूपमा फेस्टिवलले महत्वपूर्ण भूमिका खेलेको भन्दै आगामी दिनमा पनि अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।






