मार्चमा अमेरिका भ्रमणको तयारीमा जापानी प्रधानमन्त्री ताकाइची

टोकियो । जापानकी पहिलो महिला प्रधानमन्त्री सानाए ताकाइचीले आगामी मार्चमा अमेरिकाको औपचारिक भ्रमण गर्ने तयारी गरेकी छन् । आगामी २० मार्चमा प्रधानमन्त्री ताकाइचीले अमेरिका भ्रमण गर्नसक्ने बताइएको छ ।

गत अक्टोबरमा प्रधानमन्त्री बनेपछि ताकाइचीको यो पहिलो अमेरिका भ्रमण हुनेछ । जसका लागि जापान र अमेरिकाका अधिकारीहरुले भ्रमणको तयारी सुरु गरेका छन् ।

यद्यपि, अर्को महिनामा हुने अनुमान गरिएको निर्वाचनपछि मात्रै भ्रमणको विस्तृत कार्यतालिकालाई अन्तिम रूप दिने सम्भावना रहेको छ ।

जापानी पक्षले मार्च २० देखि सुरु हुने तीन दिने सार्वजनिक बिदाको समयमा भ्रमणको तयारी गरिरहेको छ । यसो गर्दा जापानी संसदका छलफलहरूमा न्यूनतम प्रभाव पार्ने स्रोतहरूले बताएका छन् ।

भ्रमणका क्रममा ताकाइचीले चीनसम्बन्धी नीति र रणनीतिमा अमेरिका–जापानको साझा धारणा तय गर्ने विषयमा छलफल गर्ने अनुमान गरिएको छ ।

राष्ट्रपति ट्रम्पले अप्रिलमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिखर वार्ता गर्ने तयारी गरिरहेकाले यस विषयले विशेष महत्व पाउने बताइएको छ ।

त्यसैगरी, जापानको अमेरिकामा लगानी तथा महत्त्वपूर्ण खनिज स्रोतहरूको आपूर्ति शृंखला मजबुत बनाउन द्विपक्षीय सहकार्य पनि वार्ताको मुख्य एजेन्डामा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?