मध्यावधि निर्वाचनको तयारीमा जापानकी प्रधानमन्त्री ताकाइची

टोकियो । सरकारप्रति जनसमर्थन घटिरहेका बेला जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले नयाँ आम निर्वाचन गराउने तयारी गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

गत अक्टोबरमा जापानको पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीको मन्त्रिपरिषदप्रति पछिल्लो समयमा जनसमर्थन घट्दै गएको देखिन्छ ।

जापानको सत्तारुढ गठबन्धनमा तल्लो सदनमा झिनो बहुमत रहेको छ । जसका कारण उनका महत्वाकांक्षी नीति र एजेण्डालाई अघि बढाउन समस्या भइरहेको छ ।

योमिउरी र माइनिची दैनिक पत्रिकाले जनवरी २३ मा संसदको तल्लो सदन विघनट गरी नयाँ निर्वाचनको घोषणा गर्ने तयारी भइरहेको उल्लेख गरेका छन् । यसपछि फेब्रुअरीको सुरूदेखि मध्यसम्ममा नयाँ निर्वाचन हुने सम्भावना रहेको उल्लेख गरिएको छ ।

ताकाइचीको प्रशासनका केही व्यक्तिहरू आफ्नो जग बलियो बनाउन समर्थन दर उच्च रहेको बेला संसद् चाँडै विघटन गर्न अघि बढ्नुपर्ने धारणा राख्छन् ।

ताकाइची लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) र यसको गठबन्धन साझेदार जापान इनोभेसन पार्टीको समर्थन पाएर प्रधानमन्त्री बनेकी हुन् । माथिल्लो सदनमा भने सत्तारूढ गठबन्धन अल्पमतमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?