
टोकियो । जापानी सरकारले भेनेजुएलामा भएको अमेरिकी सैन्य आक्रमण र त्यस क्रममा राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको घटनाबारे कुनै कानुनी मूल्यांकन गर्न अस्वीकार गरेको छ ।
जापानको विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै अमेरिकाको कदम अन्तर्राष्ट्रिय कानुनअनुसार थियो वा थिएन भन्ने विषयमा जापानले टिप्पणी गर्ने अवस्था नरहेको उल्लेख गरेको हो ।
सरकारका अनुसार यो विषय अत्यन्तै संवेदनशील कूटनीतिक मामिला भएकाले जापानले प्रत्यक्ष मूल्यांकन गर्नु उपयुक्त नहुने ठहर गरेको छ । जापानले सम्बन्धित सबै पक्षलाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै शान्तिपूर्ण संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ ।
विशेषज्ञहरूका अनुसार जापानको यो धारणा उसको परराष्ट्र नीतिको परम्परागत लाइनसँग मेल खान्छ । जहाँ जापानले अमेरिकी सुरक्षा साझेदारीलाई ध्यानमा राख्दै पनि खुला कानुनी टिप्पणीबाट जोगिने रणनीति अपनाउने गरेको छ ।
यस घटनाले विश्व राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ भने जापानको सतर्क प्रतिक्रिया अन्तर्राष्ट्रिय सन्तुलन कायम राख्ने प्रयासका रूपमा हेरिएको छ ।







