
टोकियो । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा साहित्यिक चौतारी नेपाल–जापान शाखाले आयोजना गरेको नववर्ष विशेष रचना वाचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम आइतबार टोकियोको ओकुबोस्थित नेवा डाइनिङ हलमा सम्पन्न भएको छ ।
जाडो मौसमको प्रतिकूलताबीच पनि जापानमा बसोबास गर्ने नेपाली साहित्य प्रेमी, सर्जक, कवि–कवयत्री तथा स्रोताको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

जनवरी ४ तारिखमा सम्पन्न कार्यक्रममा प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने साझा प्रतिबद्धता अभिव्यक्त गरिएको थियो । कविता, गजल, कथा र अनुभूतिको वाचनसँगै नेवा डाइनिङ हल एक दिनका लागि सजीव साहित्यिक चौतारीमा रूपान्तरण भएको अनुभूति सहभागीहरूले गरेका थिए ।
कार्यक्रममा नेपाल सरकारका कार्यवाहक राजदूत हरिहर कान्त पौडेल, एनआरएनए जापानका अध्यक्ष सुबास लामिछाने, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष रविन्द्र गोर्खाली, महासंघका संस्थापक अध्यक्ष तिलक मल्ल, प्रलोपाका केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

त्यस्तै जापानमा सक्रिय महिला अभियन्ता अनिता गुरुङ, कालिका थापा, मञ्जु गिरी, चन्द्रा केसी, साहित्यकार तथा मुक्तककार गृष्मा पौड्याल, जापानी नागरिक हारुहितो नोजु, सोना केसी, रविन्द्र दिक्खुपा, सयपत्री थुलुङलगायतको सहभागिताले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको थियो ।
संस्थाका संरक्षक अमरदेव बास्तोला र सचिव शारदा पाण्डेको विशेष भूमिका रहेको कार्यक्रममा सुजाता शर्माले स्वागत मन्तव्य राख्दै साहित्यिक चौतारीको उद्देश्य, संस्थाको यात्रा र भविष्यका योजनाबारे प्रकाश पारेकी थिइन् ।
औपचारिक सत्रपछि निरन्तर चलेको रचना वाचनले सहभागी स्रोताहरूलाई अन्तिम क्षणसम्म बाँधेर राखेको थियो ।

कार्यक्रममा अमरदेव बास्तोला, रविन्द्र दिक्खुपा, सयपत्री थुलुङ, सुबास पोख्रेल, अविरल पाण्डे, समर प्रेम, राजन घले, म्यामराज राई, शिवराज बुल्तिम, दीया शाह, कमला लम्साल काप्री, प्रविन लामा, दीपा घिमिरे, सुजन वैरागी, सरिता चौधरी, गृष्मा पौड्याल, बिमला घिमिरे, मनिष क्षेत्री, विनोद सोपकोटा, स्मुथ बस्ताकोटी, साबुश्री भुजेल, मञ्जु गिरी, पवि रेग्मी लगायत सर्जकहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए । प्रस्तुत रचनाहरूले प्रवासी नेपाली साहित्यको जीवन्तता, विविधता र गहिराइ उजागर गरेको सहभागीहरूको प्रतिक्रिया थियो ।
संस्थाकी अध्यक्ष सरिता ढकालको सभापतित्वमा भएको कार्यक्रमको संयोजन अमरदेव बास्तोलाले गरेका थिए भने सञ्चालन शारदा पाण्डेले गरेकी थिइन् । दिया शाह, सुजाता शर्मा, मनकुमारी अमगाईँ, गोपिनी आचार्य र गीता बस्याललगायत सदस्यहरूको सहकार्यमा कार्यक्रम व्यवस्थित रूपमा सम्पन्न भएको थियो ।
साहित्यिक चौतारी नेपाल–जापान शाखाले आगामी दिनहरूमा पनि नेपाली साहित्यको प्रवद्र्धन, सर्जकहरूको सम्मान तथा नयाँ पुस्तालाई साहित्यसँग जोड्ने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।






