
टोकियो । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट जापानको टोकियोमा कार्यरत दावा शेर्पाको नाम समानुपातिक उम्मेदवारमा सिफारिस भएको छ ।
नेकपा भोजपुर जिल्ला कमिटीले आगामी प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको हो । जसमा शेर्पाको नाम पनि समावेश छ ।
प्रतिनिधि सभा निर्वाचन–२०८२ का लागि समानुपातिकतर्फ सिफारिस उनी पौवादुङमा गाउँपालिका–१, श्यामशिला निवासी हुन् । पार्टीका अनुसार शेर्पाको नाम ‘सहिद परिवार’ क्लस्टर अन्तर्गत सिफारिस गरिएको हो ।
जिल्ला कमिटीले प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रिय सभाका लागि गरी १५ जनाको नाम केन्द्रमा पठाएको जनाएको छ ।
जापानी भाषा अध्ययन पूरा गरी उनी जापानमा कार्यरत रहेका छन् । प्रवासमा रहँदा पनि पार्टी तथा संगठनसँगको सम्बन्ध निरन्तर कायम राखेका कारण उनको नाम सिफारिसमा परेको पार्टी स्रोतको भनाइ छ ।
प्रवासमा रहेका नेपाली समुदायका केही सदस्यहरूले सामाजिक सञ्जालमार्फत शेर्पालाई शुभकामना व्यक्त गरिरहेका छन् । यद्यपि उम्मेदवार चयन प्रक्रिया केन्द्रीय तहमा अन्तिम निर्णय हुन बाँकी रहेको छ ।
शेर्पा तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट नेपाली जनप्रगतिशील मञ्च जापानका महासचिव हुन् । पार्टीको अन्तिम उम्मेदवार सूची भने केन्द्रको निर्णयपछि मात्रै सार्वजनिक हुने जनाइएको छ ।







