जापानमा भालु र सवारी साधनबीच दुर्घटनामा तीव्र वृद्धि

अकिता । जापानको अकिता प्रान्तमा कालो भालुको संख्या उल्लेखनीय रूपमा बढ्दै जाँदा, भालु र सवारी साधन तथा रेलबीच हुने दुर्घटनाहरू यसवर्ष अहिलेसम्मकै उच्च स्तरमा पुगेका छन् ।

अकिता प्रिफेक्चरल प्रहरीको अनुसन्धान अनुसार सन् २०२५ नोभेम्बरको अन्त्यसम्म मात्रै १३७ वटा भालु–सवारी दुर्घटनाका घटना दर्ता भएका छन् । जुन पछिल्ला वर्षहरूकै सबैभन्दा धेरै हो ।

यसअघि सन् २०२३ मा १०१ घटना दर्ता भएका थिए भने २०२४ मा घटेर २३ मा झरेको थियो । तर यस वर्ष फेरि तीव्र वृद्धि देखिएको हो । विशेषगरी अक्टोबर महिनामा मात्र ६६ वटा दुर्घटना भएका छन् । जसले शरद ऋतुमा जोखिम अत्यधिक हुने देखाएको छ ।

यीमध्ये अधिकांश दुर्घटना राष्ट्रिय तथा प्रान्तीय सडकहरूमा भएका छन् भने केही एक्सप्रेस वेहरूमा पनि देखिएका छन् ।

यस वर्ष पहाडी क्षेत्र मात्र होइन, शहरी क्षेत्रहरूमा समेत भालु देखिने र दुर्घटना हुने क्रम बढेको प्रहरीको भनाइ छ । यद्यपि हालसम्म मानवीय चोटपटक भने रिपोर्ट भएका छैनन् ।

प्रहरीले भालु देख्दा अचानक सवारी मोड्नु खतरनाक हुने चेतावनी दिँदै दुर्घटना भएमा तुरुन्त गाडीबाट ननिस्कन, सुरक्षित स्थानमा गाडी रोकेर आफ्नै सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेको छ ।

यता, जेआर इस्टको अकिता शाखाका अनुसार यस आर्थिक वर्षमा रेल र भालु ठोक्किने ५१ घटना भइसकेका छन्, जुन अघिल्लो वर्षको रेकर्डभन्दा बढी हो ।

भालुको जोखिमले व्यवसाय क्षेत्रलाई पनि असर पारेको छ । टोकियो शोको रिसर्चको सर्वेक्षण अनुसार अकिताका करिब ४४ प्रतिशत कम्पनीहरू भालुका कारण व्यवसाय प्रभावित भएको बताउँछन् ।

कर्मचारी सुरक्षा, ग्राहक घट्नु, अतिरिक्त खर्च र कार्यक्रम रद्द हुनुले क्षेत्रीय उद्योगको दिगोपनामा चुनौती थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?