
टोकियो । जापानमा स्थायी बसोबास अर्थात् पर्मानेन्ट रेसिडेन्सी लिन चाहने विदेशीहरूका लागि अब नयाँ नियम आउन सक्ने संकेत देखिएको छ ।
जापान सरकारले स्थायी बसोबासको अनुमति दिनुअघि जापानी भाषा दक्षता अनिवार्य बनाउने प्रस्तावमा विचार गरिरहेको खबर बाहिर आएको छ ।
सरकारी स्रोतहरूका अनुसार यदि यो प्रस्ताव कार्यान्वयनमा आएमा सन् २०२७ अप्रिलदेखि लागू हुने सम्भावना छ ।
त्यसपछि जापानमा लामो समयदेखि बसोबास गर्दै आएका विदेशीहरूले पनि निश्चित स्तरको जापानी भाषा ज्ञान प्रमाणित गर्नुपर्ने हुन सक्छ ।
यसको अर्थ अब केबल वर्षौंसम्म जापानमा बसेको आधारमा मात्रै होइन, जापानी भाषा बुझ्न, बोल्न र दैनिक जीवनमा प्रयोग गर्न सक्ने क्षमता पनि महत्वपूर्ण मापदण्ड बन्नेछ ।
सरकारले यस कदमलाई जापानी समाजसँग राम्रो समायोजन, कार्यस्थलमा सहजता र सामाजिक एकता बलियो बनाउने उद्देश्यसँग जोडेको बताइएको छ ।
तर, यो प्रस्तावले केही विदेशी समुदायमा चिन्ता पनि बढाएको छ । विशेषगरी भाषा सिक्न कठिनाइ भोगिरहेका, व्यस्त कामका कारण अध्ययन गर्न समय नपाएका विदेशीहरूका लागि थप चुनौती बन्न सक्ने आँकलन गरिएको छ ।
अहिले यो विषय अन्तिम निर्णयमा पुगेको छैन । तर आगामी वर्षहरूमा जापानको आप्रवासन नीतिमा ठूलो परिवर्तन ल्याउन सक्ने संकेत भने स्पष्ट देखिएको छ ।







