
बेइजिङस्थित जापानी दूतावासले चीनको भ्रमणमा सुरक्षा सतर्कता अपनाउन जापानी नागरिकहरुलाई आग्रह गर्दै सेक्युरिटी एडभाइजरी जारी गरेको छ ।
चीनमा जापानी सेनाले सन् १९३७ मा मच्चाएको नानजिङ हत्याकाण्डको स्मृति दिवस नजिकिदै गर्दा जापानी नागरिकलाई विशेष सतर्क हुन आग्रह गरेको हो ।
जापानी प्रधानमन्त्री सानाए ताकाइचीले गत महिना संसदमा सम्बोधन गर्दै चीनले ताइवानमाथि आक्रमण गरेमा सैन्य प्रतिक्रिया दिन सक्ने बताएसँगै दुई देशबीच तनाव बढेको छ ।
गत महिना नै चीनले जापान जाने यात्रुका लागि सुरक्षा सतर्कता अपनाउन आग्रह गरेपछि जापान जाने हजारौं चिनियाँ पर्यटकले यात्रा रद्द गरेका थिए ।
जापानी दूतावासले दुई देशबीच ऐतिहासिक मुद्दासँग सम्बन्धित दिनहरूमा चीनमा जापानविरोधी भावना बढ्ने सम्भावना रहेकाले संवेदनशीलता बढेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
सन् १९३७ मा नानजिङमा जापानी सैनिकबाट लाखौं चिनियाँ नागरिक मारिएका थिए । जसका कारण आज पनि चीनमा जापानीप्रति घृणाभाव देखिन्छ ।
दूतावासले सार्वजनिक स्थानमा ठूलो स्वरमा नबोल्न तथा जापानी नागरिक भएको स्पष्ट पहिचान हुने कपडा वा सामान नलगाउन र नबोक्न आग्रह गरेको छ ।







