
जापानको दक्षिण–पश्चिमी ओइतामा भीषण आगलागी हुँदा १७० भन्दा बढी घरहरु जलेर क्षतिग्रस्त बनेका छन् ।
घना बस्ती रहेको क्षेत्रभरि फैलिएको आगोका कारण एक जनाको मृत्यु भएकोस्थानीय अधिकारीहरूले जनाएका छन् ।
आगो ओइताको सागानोसेकी बन्दरगाह वरपरको आवासीय क्षेत्रमा लागेको थियो । आगलागीको जानकारी पाएलगत्तै दमकलकर्मीले आगो नियन्त्रणमा लिने कोशिस गरेको भए पनि १२ घन्टाभन्दा बढी समयसम्म आगो नियन्त्रणमा आउन सकेको थिएन ।
आगलागीपछि करिब २ सय जनालाई तत्कालै सुरक्षित स्थानमा सारिएको थियो । तर बुधबार घटनास्थलमा एक जनाको शव फेला परेको छ । उत्त शव ७६ वर्षीय एक हराइरहेका पुरुषको हुन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ ।
आगलागीले करिब ४८ हजार ९ सय वर्ग मिटर क्षेत्र जलेको र आगो नजिकैको वनजंगल क्षेत्रसम्म फैलिएको अधिकारीहरूले बताएका छन् । ओइताका मेयर सिन्या अदाचीले पत्रकारसँग कुरा गर्दै आगोका कारण थप क्षति नहुने विश्वास व्यक्त गरे ।
प्रान्तीय सरकारका वरिष्ठ अधिकारी सोगो फुजिकावाले भनेका छन्, ‘धुवाँ घट्दै गएको छ र स्थिति नियन्त्रणतिर गइरहेको छ ।’ तर उनले अझै सावधानी अपनाउनुपर्ने बताए ।
केन्द्र सरकारले प्रधानमन्त्रीको कार्यालयमै सहयोग–समन्वय केन्द्र स्थापना गरेको छ ।
प्रधानमन्त्री सानाए ताकाइचीले सामाजिक सञ्जाल एक्समार्फत प्रभावितहरूलाई स्थानीय सरकारसँग समन्वय गरी ‘अधिकतम सहयोग’ उपलब्ध गराइने घोषणा गरिन् ।
आगोका कारण ३५० घरको विद्युत सेवा अवरुद्ध बनेको क्युशु इलेक्ट्रिक पावर ट्रान्समिशन एन्ड डिस्ट्रीब्यूसन कम्पनीले जनाएको छ ।







