यात्रा चेतावनीपछि जापान जाने करिब ५ लाख टिकट रद्द

चीन र जापाबीच बढ्दो तनावसँगै करिब ५ लाख यात्रुले हवाई टिकट रद्द गरेका छन् ।

स्वतन्त्र उड्डयन विश्लेषक ली हानमिङले दुई देशबीच ताइवान मुद्दामा कूटनीतिक विवाद बढेसँगै बेइजिङले आफ्ना नागरिकलाई जापान नजान चेतावनी दिएपछि ठूलो मात्रामा टिकट रद्द भएको बताएका छन् ।

चीनले ताइवानमाथि हमला गरे जापानी सैनिक पठाउनसक्ने प्रधानमन्त्री सानाए ताकाइचीको अभिव्यक्तिपछि चीनले आफ्ना नागरिकलाई जापान यात्रा नगर्न चेतावनी जारी गरेको थियो ।

ताइवानलाई चीनले आफ्नै अलग भएको एक प्रान्त मान्छ । ली हानमिङले २०२३ देखि ठूला विमान कम्पनीहरू र अनलाइन यात्रा एजेन्सीहरूबाट दैनिक डाटा संकलन गर्दै आएका छन् ।

उनकाअनुसार नोभेम्बर १५ मा जापानका लागि सक्रिय बुकिङ करिब १५ लाख थियो । जुन दुई दिनमै १० लाखमा झरेको छ । यसले करिब ५ लाख यात्रा रद्द भएको निष्कर्ष निकालेको उनले बताए ।

उनको डाटाबेस सुरु भएदेखि सामान्यतया दैनिक बुकिङ ५ प्रतिशतले घट्ने गर्दछ । तर पछिल्ला दुई दिनमा ३३ प्रतिशतको भारी गिरावट आएको छ । जापान र चीनबीच तनाव बढ्दै गएमा अझै यात्रा रद्द हुने सम्भावना रहेको समेत उनले बताएका छन् ।

चिनियाँ पर्यटकहरू जापानका सबैभन्दा ठूला स्रोत हुन् । जापानी तथ्यांकअनुसार, २०२५ को पहिलो नौ महिनामा करिब ७५ लाख चिनियाँ पर्यटक जापान पुगेका थिए ।

तेस्रो त्रैमासिकमा उनीहरूले मासिक एक अर्ब डलरभन्दा बढी खर्च गरेका थिए । जुन सबै पर्यटक खर्चको करिब ३० प्रतिशत हो ।

चीनको यात्रा चेतावनीपछि जापानी पर्यटन र खुद्रा व्यापारका सेयरहरूमा भारी गिरावट आएको छ । यो घटनाले दुई देशबीचको आर्थिक सम्बन्धमा थप असर पार्न सक्ने विश्लेषकहरूले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?