चिनियाँ ट्राभल एजेन्सीले रोके जापान भ्रमण, के–केमा पर्नसक्छ असर ?

बेइजिङ । चीन–जापानबीच कूटनीतिक तनाव चर्किदै गएका बेला ठूला चिनियाँ ट्राभल एजेन्सीहरूले जापान जाने ‘टुर प्याकेज’ तत्कालका लागि रोकेका छन् ।

जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानको विषयलाई लिएर दिएको अभिव्यक्तिसँगै चीन–जापान कूटनीतिक क्षेत्रमा तनाव उत्पन्न भएको छ । जसको प्रत्यक्ष असर जापानको पर्यटन क्षेत्रमा देखिन थालेको हो ।

चीनका प्रमुख ट्राभल एजेन्सीहरूले जापान भ्रमणमा जाने समूह, व्यक्तिगत भ्रमण प्याकेज र भिसासँग सम्बन्धित सेवाहरु अस्थायी रुपमा निलम्बन गरेका छन् ।

टुर एन्ड ट्राभल एजेन्सीहरूले आफ्नो अनलाइन प्लेटफर्मबाट जापानसम्बन्धी अधिकांश प्याकेज हटाइसकेका छन् । यसअघि नै बुक गरेका यात्रुहरूलाई पूर्ण रकम फिर्ता वा अन्य देशको भ्रमणमा रूपान्तरण गर्ने विकल्प उपलब्ध गराइएको छ ।

ताइवानका विषयमा प्रधानमन्त्री ताकाइचीले संसदमा दिएको अभिव्यक्तिप्रति कडा प्रतिक्रिया जनाउँदै चीनको विदेश मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालयले आफ्ना नागरिकलाई जापान भ्रमण असुरक्षित रहेको भन्दै चेतावनी जारी गरेको थियो ।

चिनियाँ एजेन्सीहरूले सरकारी चेतावनीलाई उद्धृत गर्दै जापान यात्रासम्बन्धी कार्यक्रम स्थगित गरेको जनाएका छन् ।

उता, चीनको शिक्षा मन्त्रालयले जापानमा अध्ययनरत वा अध्ययनका लागि जाने विद्यार्थीलाई अवस्थालाई ध्यानपूर्वक मूल्यांकन गर्न चेतावनी दिएको छ ।

जापानले भने चीनको कदमलाई अनावश्यक दबाब भन्दै आलोचना गरेको छ । चिनियाँ पर्यटकको आगमन जापानी खुद्रा व्यापार, होटल उद्योग र पर्यटन क्षेत्रको महत्त्वपूर्ण हिस्सा भएकाले चीनको निर्णयसँगै जापानको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्नसक्ने देखिएको छ ।

चिनियाँ पर्यटकमा आएको ठूलो गिरावटले टोकियो, ओसाकाजस्ता मुख्य शहरका खुद्रा बजार, लग्जरी ब्रान्ड, होटल तथा रेस्टुराँ, मनोरञ्जन उद्योगमा तत्कालै गिरावट आउने सम्भावना छ ।

चिनियाँ पर्यटक आउन रोकिएपछि जापानमा तत्काल दुईवटा फिल्मको रिलिज मिति अनिश्चितकालका लागि रोकिएको छ ।

पर्यटन र खुद्रा क्षेत्रका सेयर मूल्यहरू पनि पछिल्ला दिनमा धेरै घटेका छन् । जापानका केही होटलहरूमा चिनियाँ बुकिङहरू रद्द हुन थालेका छन् । जापान आउने विदेशी पर्यटकमा सबैभन्दा बढी चिनियाँ नागरिक हुने गर्छन् ।

यो वर्ष जनवरीदेखि सेप्टेम्बरसम्म जापानमा ३ करोड १६ लाख ५० हजार विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये ७४ लाख ९० हजार चिनियाँ थिए । यो अघिल्लो वर्षको तुलनामा ४२.७ प्रतिशतले बढी हो ।

सन् २०२४ मा करिब ६९ लाख ८० हजार चिनियाँ नागरिकले जापानको भ्रमण गरेका थिए । ट्राभल अलर्ट जारी भएको भोलिपल्टै ठूला चिनियाँ एयरलाइन्सहरूले जापान जाने टिकट रद्द गर्न वा मिति सारे पनि पैसा नकाटिने व्यवस्था लागू गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?