जापानमा ज्वालामुखी विस्फोट, ४४ सय मिटर अग्लो खरानी–धुवाँको मुस्लो आकाशमा

टोकियो । जापानको दक्षिण–पश्चिम क्षेत्रमा रहेको साकुराजिमा ज्वालामुखी विस्फोट हुँदा आकाशमा करिब ४ हजार ४ सय मिटर उचाइसम्म खरानी र धुवाँको विशाल मस्लो उडेको छ ।

जापानी मौसम एजेन्सीले विस्फोट स्थानीय समय अनुसार राति १२ः५७ बजे साकुराजिमाको मिनामिदाके क्रेटरबाट सुरू भएको जनाएको छ ।

यो विस्फोटपछि ठूला–ठूला चट्टानहरू समेत बाहिर निस्किएको जनाइएको छ । केही चट्टानहरू फिफ्थ स्टेशनसम्म पुगेका छन् । तर हालसम्म कुनै मानवीय क्षति वा भवनमा ठूलो भौतिक नोक्सानी नपरेको अधिकारीहरूले बताएका छन् ।

धुवाँ–खरानीको उचाइ ४ हजार ४०० मिटरसम्म पुगेको छ । जुन १८ अक्टोबर, २०२४ पछि पहिलो पटक यति अग्लो धुँवाको मुस्लोसहित ज्वालामुखी विस्फोटको घटना भएको हो ।

मौसमविद्हरूका अनुसार यतिबेला हावाको बहावका कारण कागोशिमा, कुमामोटो र मियाजाकी क्षेत्रमा खरानी पर्ने जोखिम बढेको छ ।

साकुराजिमा जापानको सबैभन्दा सक्रिय ज्वालामुखीमध्ये एक हो । सर्वसाधारणलाई पर्वत नजिक जान प्रतिबन्धित गरिएको छ । तत्काल ठूलो विस्फोटको सम्भावना नदेखाए पनि उच्च सतर्कता आवश्यक रहेको अधिकारीहरूको भनाइ छ ।

ज्वालामुखीमा विस्फोट रेकर्ड भएपछि मौसम विज्ञान एजेन्सीले यो क्षेत्रको हवाई, भू–गतिविधि र सम्भावित अर्को विस्फोटका संकेतहरूमा निरन्तर निगरानी गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?