टोकियो सप्ताह–२०२५ : दोस्रो दिन भक्तजनको उल्लेख्य उपस्थिति, २ करोड येन भन्दा बढी संकलन

टोकियो । जापानमा एकीकृत नेपाली घर, बहुसांस्कृतिक केन्द्र निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको आयोजनामा तथा जापानस्थित विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा जारी ‘टोकियो सप्ताह–२०२५’को दोस्रो दिन पनि भक्तजनहरूको उत्साहपूर्ण सहभागितासहित कार्यक्रम सम्पन्न भएको छ।

श्रीमद्भागवत ज्ञान महायज्ञको दोस्रो दिन टोकियोमा सुन्दर र भव्य वातावरणमा धार्मिक विधिविधानसहित कथा वाचन सम्पन्न गरिएको थियो। वाचन प्रवचनका लागि पण्डित दिनबन्धु पोखरेल र महान बौद्व गुरु टुल्कु तुलसी सोनाम गर्वाङ रिम्पोछेले कथा सुनाएका थिए। वैदिक परम्परा अनुसार पूजा–अर्चना गरी कथा प्रारम्भ गरिएको थियो।

आयोजक समितिका अनुसार दोस्रो दिन करिब २ करोड ९४ लाख ७ हजार ८ सय ३० येन रकम सङ्कलन भएको छ।

भक्तजनहरूको विश्वास, आस्था र मातृभूमिप्रतिको उत्तरदायित्वको प्रतीकस्वरूप यो सहयोग संकलनलाई महत्वपूर्ण मानिएको छ।

कार्यक्रममा उपस्थित गुरुहरूमार्फत शुभकामना मन्तव्य दिदै टोकियो सप्ताहको मूल उद्देश्यलाई सफल बनाउन सबैलाई आह्वान गरिएको थियो। गुरुहरूले धर्म, प्रेम, करुणा र सत्यमार्गको जीवनशैली अंगाल्दै प्रवासमा पनि संस्कार, संस्कृति र एकताको भावना फैलाउने सन्देश दिएका थिए।

आयोजक समितिले सहयोगी, सहभागी र भक्तजनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस अभियानलाई अझ प्रभावशाली बनाउन प्रतिवद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?