जापानका २७ शहरमा विदेशीको जनसंख्या १० प्रतिशतभन्दा बढी

जनसंख्याको तीव्र गिरावट र जनसांख्यिक असन्तुलन भोगिरहेको जापानमा पछिल्लो समयमा विदेशी नागरिकको संख्यामा उच्च वृद्धि भइरहेको छ ।

जापानका २७ वटा ठूला शहर वा नगरपालिकामा विदेशी नागरिकको संख्या १० प्रतिशतभन्दा माथि पुगेको छ ।

जापान टुडेले हालै प्रकाशित गरेको अध्ययनको नतिजाअनुसार जापानका २७ वटा सहर वा नगरपालिकामा अब विदेशी बासिन्दाहरू कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी पुगेका हुन् ।

यो संख्यालाई जापानको जनसांख्यिक संरचनामा ठूलो परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।

जापानमा घट्दो जन्मदर र बढ्दो वृद्ध जनसंख्याका कारण विदेशी कामदार र परिवारहरूको संख्या तीव्र रूपमा बढ्दै गएको छ ।

जापानको राजधानी टोकियो, आइची, सैतामा, गिफु र मिए प्रान्तका सहरहरूमा विदेशीहरूको अनुपात अत्यधिक रहेको छ ।
गिफु प्रान्तको मिनोकामो सहरमा विदेशी जनसंख्या लगभग २० प्रतिशत पुगेको बताइन्छ ।

जापान सरकारले बढ्दो विदेशी जनसंख्यालाई मध्यनजर गर्दै विदेशीहरूका लागि आवास, शिक्षा र भाषा सहयोग सेवाहरू विस्तार गर्ने तयारी गरिरहेको छ ।

त्यसैगरी, स्थानीय प्रशासनले पनि जापानी भाषा तालिम र समुदायगत सहभागिता कार्यक्रमहरू बढाउने योजना बनाएका छन् ।

विशेषज्ञहरूका अनुसार विदेशीहरूको बढ्दो उपस्थिति जापानको श्रम बजार र स्थानीय अर्थतन्त्रका लागि आवश्यक र सकारात्मक संकेत हो ।

यद्यपि सांस्कृतिक अन्तर र स्थानीय समाजमा समायोजनका चुनौतीहरू पनि देखिन थालेका छन् ।

जापानमा हाल करिब ३५ लाखभन्दा बढी विदेशी नागरिक स्थायी रूपमा बसोबास गर्दै आएका छन् । यो संख्या आगामी वर्षहरूमा झन बढ्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?