पश्चिमी वायुको प्रभावः कहाँ भइरहेको छ वर्षा र हिमपात ?

पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण मंगलबारदेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात सुरु भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार र बुधबार दुई दिन गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना छ ।

यसैगरी गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना छ । ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आवश्यक सतर्कता अपनाउन र पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ ।

मंंगलबार बिहानैदेखि मुस्ताङको मुक्तिनाथ मन्दिर वरपर हिमपात सुरु भएको छ । हिमपातका कारण मुक्तिनाथ दर्शन गर्न पुगेकाहरु समेत प्रभावित भएका छन् ।

मुस्ताङका उच्च हिमाली क्षेत्र, मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, ५ हजार ४ सय मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, ६ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा हिमपात भइरहेको छ ।

यसैगरी अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा गएरातिदेखि नै बाक्लो हिमपात भइरहेको छ ।

४ हजार १३० मिटर उचाइमा रहेको अन्नपूर्ण गाउँपालिका ११, अन्नपूर्ण बेसक्याम्पमा हिमपात भएको हो । हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?