जापानको ओसाकामा नेपथ्यको भव्य कन्सर्ट हुने

ओसाका (जापान)। ‘एकताका लागि संगीत’ भन्ने नाराका साथ चर्चित नेपाली ब्याण्ड नेपथ्यले जापानको ओसाकामा आउँदो नोभेम्बर २४ (मंसिर ८ गते, सोमबार) भव्य लाईभ कन्सर्ट आयोजना गर्ने भएको छ।

नेपाली मौलिक गीत–संगीतलाई लोक पप, लोक रक र मैत्री रकको शैलीमा प्रस्तुत गर्दै लोकप्रिय बनेको नेपथ्यले जापानमा पनि त्यही सांगीतिक यात्राको निरन्तरता दिन लागेको हो।

कन्सर्टको आयोजना माईला गाइज समूहले गर्दैछ भने डिस्कभरी सपोर्ट मुख्य टाइटल स्पोन्सर रहेको छ।

सो कन्सर्टका मिडिया पार्टनरका रूपमा अर्थ संवाद डट कम रहेको र अन्य स्पोन्सरहरू पनि उत्साहजनक रूपमा जोडिँदै गएको आयोजक टोलीका संयोजक पूर्ण गर्बुजाले जानकारी दिए।

‘प्रचार–प्रसारका हिसाबले निकै आक्रमक तरिकाले अघि बढिरहेका छौं। यो पटकको नेपथ्य कन्सर्ट भव्य र ऐतिहासिक हुनेछ,’ माईला गाइजका सदस्य मदन केसीले बताए।

भव्य रूपमा आयोजना हुन लागेको सो कन्सर्ट ओसाकास्थित जेप ओसाका बेसाइड (Zepp Osaka Bayside) हलमा हुनेछ। सो हलमा करिब ३ हजार दर्शक अट्ने क्षमता रहेको छ।

दर्शकहरूले अनलाइनबाटै टिकट खरिद गर्न सक्ने व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ। सन् १९९१ मा स्थापना भएको नेपथ्यको पहिलो एल्बम ‘नेपथ्य’ देखि ‘ऐना झ्याल’ सम्मका गीतहरू सबै उमेर समूहका नेपालीमाझ लोकप्रिय छन्।

लोक रक शैलीलाई नेपाली मौलिकता अनुसार ढाल्दै गीत–संगीतको अन्तर्राष्ट्रियकरणमा अग्रणी भूमिका खेल्दै आएको नेपथ्य अहिले ‘नेपा लयको ब्रान्ड’को रूपमा समेत परिचित छ।

नेपथ्यले देशका विभिन्न सहरहरूमा कन्सर्टमार्फत सामाजिक सन्देश फैलाउँदै आएको छ। यस्तै, प्रवासमा रहेका नेपाली समुदायलाई समेत संगीतका माध्यमबाट जोड्ने उद्देश्यले पनि यसपटक ओसाकामा कन्सर्ट आयोजना गर्न लागिएको हो।

नेपाली लोकभाकालाई आधुनिक स्वादमा प्रस्तुत गर्ने कलात्मकताका कारण नेपथ्यका ‘छेक्यो छेक्यो देउराली डाँडा’ देखि पछिल्लो गीत ‘शिर फुल फुलैमा बनफुल बनैमा’ सम्मका गीतहरू नेपाली श्रोता–दर्शकमाझ लोकप्रिय र अजर–अमर बनेका छन्।

आयोजक टोलीका सदस्य विकास अधिकारीले भने, ‘साउन्ड सिस्टम, लाइट, स्टेजदेखि व्यवस्थापनसम्म कुनै कमी हुन दिने छैनौं। ओसाकामा यसअघि पनि भव्य कार्यक्रम आयोजना गरिसकेका छौं। यो पटक अझ व्यवस्थित र ऐतिहासिक कन्सर्ट हुनेछ। सबै नेपालीहरुलाई सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?