
जापानमा सन् २०२४ मा रेकर्ड ५२९ जना बालबालिका र स्कुले विद्यार्थीहरूले आत्महत्या गरेका छन् ।
योसँगै लगातार पाँचौं वर्ष आत्महत्या गर्ने युवाहरुको जनसंख्या ३ हजारभन्दा माथि रहेको छ ।
यद्यपि जापानमा समग्रमा आत्महत्या गर्नेको संख्यामा भने सुधार आएको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको छ ।
शुक्रबार मन्त्रिपरिषद्ले स्वीकृत गरेको आत्महत्या प्रतिरोधसम्बन्धी श्वेतपत्रअनुसार आत्महत्या गर्ने धेरैजसो विश्वविद्यालयका विद्यार्थीहरू औसत २१ वर्ष उमेर समूहका थिए । जसले रोजगारी पाउने र उच्च शिक्षा अध्ययनको चिन्तालाई संकेत गर्छ ।
सन् २०१५ देखि छात्रमा र सन् २०२१ देखि छात्राहरुमा यस्तो प्रवृत्ति बढी देखिएको जनाइएको छ ।
सन् २०२२ देखि २०२४ सम्मको आत्महत्या कारणहरूको विश्लेषणमा सबैमा करियर मार्गसम्बन्धी चिन्ता रहेको देखाएको छ ।
पुरुषहरूमा शैक्षिक असफलतादर बढी देखिएको छ भने महिलाहरु डिप्रेशन वा अन्य मानसिक रोगहरूको प्रभावका कारण आत्महत्यासम्म पुग्ने गरेको पाइएको छ ।
यसबाहेक युवा महिलाहरूमा आत्महत्या गर्नेको संख्या बढ्दो क्रममा छ । जसमा २० वर्ष उमेर समूहका ४० प्रतिशतले कुनै न कुनै रुपमा आत्महत्याको प्रयास गरेका थिए ।
मन्त्रालयले आत्महत्या रोकथामका लागि थप सतर्कता र पूर्ण सहयोग आवश्यक रहेको बताएको छ ।
सन् २०२४ मा कुल आत्महत्याको संख्या २० हजार ३२० थियो । जुन अघिल्लो वर्षको तुलनामा १ हजार ५१७ ले र सन् १९७८ मा तथ्यांक संकलन सुरु भएयता दोस्रो कम भएको श्वेतपत्रमा उल्लेख छ ।
पुरुषहरूको आत्महत्या दरमा तीन वर्षपछि पहिलो पटक कमी आएको छ भने महिलाहरूको आत्महत्यादर लगातार दोस्रो वर्ष घटेको छ ।
प्राथमिक विद्यालयका विद्यार्थी र माध्यमिक विद्यार्थीहरूको आत्महत्या कुल ५२९ पुगेको छ । जुन सन् १९८० मा तथ्यांक उपलब्ध भएयता सबैभन्दा बढी हो ।
१५ देखि २९ वर्ष उमेर समूहका युवाहरूमा आत्महत्यादर उच्च छ । जसमा सन् २०२० देखि वार्षिक ३ हजार भन्दा बढीको आत्महत्याका कारण मृत्यु भइरहेको छ ।
१५–१९ वर्ष उमेर समूहमा सन् २०१५ मा पुरुषहरूको आत्महत्या महिलाहरूको भन्दा दोब्बरभन्दा बढी थियो । तर सन् २०२४ मा महिलाहरूको आत्महत्या पुरुषहरूको भन्दा बढी भएको छ ।







