
दोस्रो विश्वयुद्धका क्रममा अमेरिकाले परमाणु बम हानेका दुई शहरको भ्रमण गर्न जापानको हिरोशिमा र नागासाकीका मेयरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेका छन् ।
दुवै शहरका मेयरले पत्र लेखेर यही अक्टोबरको अन्त्यमा गर्न लागेको जापान भ्रमणका क्रममा यी दुवै शहरहरूमा आउन अनुरोध गरेका हुन् ।
अमेरिकाले सन् १९४५ मा परमाणु बम प्रहार गरी ध्वस्त बनाएका यी शहर पुनर्निर्माण पश्चात अत्याधुनिक शहरमा परिणत भएका छन् ।
हिरोसिमाका मेयर काजुमी मात्सुई र नागासाकीका मेयर शिरो सुजुकीले विश्व हाल आणविक द्वन्द्वको बढ्दो जोखिम बढेकोमा चिन्ता व्यक्त गरेका छन् ।
अंग्रेजी र जापानीमा लेखिएको यो संयुक्त पत्र जापानस्थित अमेरिकी दूतावासमार्फत पठाइएको हो ।
मात्सुई र सुजुकीले ट्रम्पले अर्को वर्ष आणविक हतियार अप्रसार सन्धिको समीक्षा सम्मेलनमा आणविक निःशस्त्रीकरणको खोजीमा नेतृत्व प्रदर्शन गर्ने आशा व्यक्त गरेका छन् ।
पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको सन् २०१६ मा हिरोसिमा भ्रमण गरेका थिए । उनी अमेरिकाले परमाणु बम प्रहार गरेको हिरोशिमा भ्रमण गर्ने एकमात्र बहालवाला राष्ट्रपति हुन् ।
सन् २०१७ मा पनि हिरोसिमा र नागासाकीले ट्रम्पलाई भ्रमणको निम्तो दिएका थिए । तर उनी हिरोशिमा र नागासाकी गएनन् । त्यसबेला उनले दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको पनि भ्रमण गरेका थिए ।







