जापानको प्रधानमन्त्री बन्न लागेकी ताकाइचीद्वारा चीनको आलोचना

जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा रहेकी सानाए ताकाइचीले चीनको इनर मंगोलिया स्वायत्त क्षेत्रमा भइरहेको ‘दमन’ को आलोचना गरेकी छन् ।

उनले बेइजिङको मानवअधिकार उल्लंघनबारे छलफल गर्न आयोजित एक र्‍यालीमा सम्बोधन गर्दै चीनको कडा आलोचना गरेकी हुन् ।

उनी हालै सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को नयाँ नेताका लागि भएको निर्वाचनमा विजयी भएकी हुन् । जापानमा सत्तारुढ पार्टीको अध्यक्ष नै प्रधानमन्त्री बन्ने भएकाले उनले प्रधानमन्त्री शिगेरु इशिबालाई विस्थापित गर्नेछिन् ।

त्यस्तो अवस्थामा उनी जापानको पहिलो महिला प्रधानमन्त्री बन्नेछिन् । ताकाइचीले मंगोलियाली समुदायलाई समर्थन गर्ने एलडीपी सदस्यहरूको समूहको नेतृत्व गर्दै यो सन्देश पठाएकी थिइन् ।

उनले स्वतन्त्रता, कानुनी शासन र आधारभूत मानवअधिकारको रक्षाका लागि एकताको आह्वान समेत गरेकी छन् ।
मंगोलिया र रुससँग सीमा जोडिएको इनर मंगोलिया क्षेत्रमा लाखौं मंगोलियाली जातिका मानिसहरूको बसोबास छ ।

तर मानवअधिकार समूहहरूका अनुसार उनीहरूले मंगोल भाषाको शिक्षालाई सीमित गर्ने जस्ता दमनकारी नीतिहरूको सामना गर्नुपरेको भन्दै आलोचना गर्दै आएका छन् ।

६४ वर्षीया कट्टरपन्थी र चीनविरोधी नीतिका लागि परिचित ताकाइची ४ अक्टोबरमा एलडीपीको अध्यक्षको निर्वाचनमा विजयी भएकी थिइन् । उनी यसै महिनाको अन्त्यमा हुने संसदीय मतदानपछि जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?