जापानमा २० वर्षदेखि छोरीको शव फ्रिजमा राखेको आरोपमा ७५ वर्षीया वृद्धा पक्राउ

|

जापानको इबाराकी प्रान्तको अमीमा प्रहरीले आफ्नी छोरीको शव २० वर्षदेखि घरको फ्रिजरमा राखेर लुकाएको अभियोगमा ७५ वर्षीया केइको मोरीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मोरी आफन्तसँग प्रहरी चौकीमा गएर आफ्नो भान्साको फ्रिजरमा छोरीको शव रहेको बताएकी थिइन् ।

प्रहरीले मोरीको घरमा खानतलासी गर्दा ९५ सेमी लामो, ८५ सेमी चौडा र ६० सेमी अग्लो फ्रिजरमा एक महिलाको शव माथिल्लो शरीर अगाडि झुकेर बसेको अवस्थामा फेला पारेको थियो ।

शव कम्बलले छोपिएको थियो भने फ्रिजरमा धेरै डियोडोराइजरहरू राखिएको पाइएको थियो ।

प्रहरीका अनुसार मोरीले शव आफ्नी छोरीको भएको बताएकी छन् । जसको जन्म सन् १९७५ को सेप्टेम्बरमा भएको थियो ।

मोरीलाई उद्धृत गर्दै प्रहरीले भनेको छ, ‘उनको २० वर्षअघि मृत्यु भयो र घरमा गन्ध फैलियो, त्यसैले मैले फ्रिजर किनेर शव त्यसमा राखें ।’

प्रहरीले मृत्युको कारण पत्ता लगाउन शवको पोस्टमार्टम गरिने बताएको छ । मोरीका पतिको पनि यसै महिना मृत्यु भएको थियो भने आफन्तहरू घरमा भेला हुँदा फ्रिजरमा छोरीको शव फेला पारेका थिए ।