जापानमा साइबर सुरक्षा चिन्ता, ६ महिनामै १२ लाख फिसिङका घटना

जापानमा सन् २०२५ को पहिलो ६ महिनामै १२ लाख फिसिङका घटना भएको सार्वजनिक भएको छ । यही गतिमा निरन्तरता पाएमा गत वर्षको तथ्यांकलाई उछिनेर नयाँ रेकर्ड बन्ने सम्भावना देखिन्छ ।

जापानको राष्ट्रिय प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको १७ लाख १८ हजार ३६ घटनालाई उछिन्ने सम्भावना देखिएको हो । फर्जी कम्पनी वा बैंकहरुबाट आएको जस्तो देखि इमेलहरुले मानिसहरुलाई ठगी वेबसाइटहरुमा पठाएर व्यक्तिगत जानकारीहरु चोरीका घटना बढेका छन् ।

सन् २०२५ को पहिलो ६ महिलामा ११ लाख ९६ हजार ३१४ केसहरु रेकर्ड भएका छन् । सन् २०१९ मा जम्मा ५५ हजार ७८७ केसहरु रेकर्ड भएका थिए ।

तथ्यांक अनुसार जनवरी–जुनसम्मको अवधिमा अनलाइन बैंकिङ स्थानान्तरण ठगीबाट मात्रै करिब ४.२२ बिलियन येनको नोक्सानी भएको देखिएको छ ।

‘भ्वाइस फिसिङ’ अर्थात स्क्यामरहरूले फोनमा व्यक्तिगत जानकारी लिएर मानिसहरुले ठग्ने कार्य समेत बढेका छन् ।
सेक्युरिटीज फर्महरूबाट आएको जस्तो देखिने फिसिङ इमेलहरू जनवरीमा १०४ बाट मे मा ७३,८५७ पुगेका थिए ।

स्क्यामरहरूले कब्जा गरेका खाताहरूमार्फत ठगी प्रयोजनका लागि व्यापार गरिएका सेयरहरू र अन्य वित्तीय उत्पादनहरूको मूल्य जनवरीमा २८० मिलियन येनबाट अप्रिलमा २९२ बिलियन येन पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?