
चीनले अमेरिकालाई जापानमा तैनाथ गरेको आफ्ना मध्यम दुरीको टाइफुन मिसाइल सिस्टम हटाउन माग गरेको छ । चीनले यो तैनाथीले रणनीतिक सुरक्षाका लागि खतरा भएको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनको गम्भीर आपत्तिलाई नजरअन्दाज गर्दै अमेरिका र जापानले संयुक्त सैन्य अभ्यासको नाममा टाइफुन मिसाइल सिस्टमको तैनाथी जारी राखेको उल्लेख गरेको छ ।
जमिनबाट लन्च गरिने यो हतियारले टोमहक मिसाइल प्रहार गर्न सक्छ । जसको मारक क्षमता २ हजार किलोमिटरसम्म छ । अर्थात् यो दक्षिण चीन सागर, ताइवान र दक्षिणी चीनका केही स्थानसम्म प्रहार गर्न सक्ने हतियार हो ।
लिन जियानले एसियाली देशमा ताइफुन मिसाइल सिस्टमको अमेरिकी तैनाथी अन्य देशका लागि खतरा भएको समेत बताएका छन् । यो क्षेत्रमा हतियारको दौड र सैन्य टकरावको खतरालाई बढाउने र रणनीतिक सुरक्षामाथि गम्भीर असर पार्ने चीनको भनाई छ ।
उनले अमेरिका र जापानलाई अन्य देशको सुरक्षा चिन्ताको सम्मान गर्न र क्षेत्रीय शान्ति र स्थिरताका लागि सकारात्मक भूमिका निभाउन समेत आग्रह गरेका छन् ।







