
जापानको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार एक सय वर्षभन्दा बढी उमेर भएका मानिसहरुको जनसंख्या करिब १ लाख पुगेको छ ।
मन्त्रालयका अनुसार एक सय वर्षभन्दा बढी उमेर भएका मानिसको संख्या ९९ हजार ७६३ पुगेको हो । यसमध्ये ८८ प्रतिशत महिला रहेका छन् ।
जापानले लगातार ५५औं वर्ष यो रेकर्ड बनाएको हो । जापानमा ८७ हजार ७८४ महिला र ११ हजार ९७९ पुरुषको उमेर १ सय वर्ष वा त्योभन्दा बढी छ । यो देशको कुल जनसंख्या १२ करोड ४० लाखको ०.८१ प्रतिशत हो ।
स्वास्थ्यमनत्री ताकामारो फुकोकाले वृद्ध दिवसको तीन दिनअघि शुक्रबार यो तथ्यांक जारी गरेको हो । जापानमा १५ सेप्टेम्बरलाई वृद्ध दिवस मनाउने गरिन्छ ।
यो दिन जापानका प्रधानमन्त्रीले १ सय वर्षभन्दा बढीका वृद्धवृद्धाहरुलाई बधाईपत्र र चाँदीको गिलास उपहार दिने गर्छन् । यो वर्ष ५१ हजार ३१० जनालाई यो सम्मान दिइनेछ ।
जापानमा सबैभन्दा वृद्ध महिला ११४ वर्षकी शिगेको कागावा र सबैभन्दा वृद्ध पुरुष १११ वर्षका कियोताका मिजुनो छन् । जापानमा मोटोपनाको समस्या कम छ । जसबाट मानिसमा मुटुको समस्या र क्यान्सरको सम्भावना कम हुन्छ ।
जापानमा औसत जीवनदर ९५.१ छ भने औसत उमेर ९५ वर्ष छ । वल्र्ड पपुलेशन रिभ्यु २०२४ को तथ्यांकअनुसार विश्वका औसत आयु भएका देशको सूचीमा शीर्ष ५ देशमध्येमा पर्छ ।







