
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानसँग भएको व्यापार सम्झौता कार्यान्वयन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
योसँगै जापानबाट अमेरिका निर्यात हुने गाडी र पाट्र्समाथि अमेरिकाले लाउँदै आएको २७.५ प्रतिशत आयात शुल्क घटाएर १५ प्रतिशतमा सीमित गरिएको छ ।
ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै अमेरिका–जापानबीचको आर्थिक साझेदारीलाई नयाँ स्तरमा पुर्याएको दाबी अमेरिकी सञ्चारमाध्यमले गरेका छन् ।
अमेरिका–जापान सम्झौताले के–के गर्छ ?
गाडी निर्यातमा राहत– अमेरिका र जापानबीचको सम्झौतासँगै अब जापानी गाडी र पाट्र्समाथि लाग्दै आएको २७.५ प्रतिशत भन्सार शुल्क घटेर १५ प्रतिशतमा सीमित हुनेछ । जसले जापानी कार निर्माता कम्पनीलाई केही सहजता हुनेछ ।
समान दर प्रणाली– जापानबाट आयात हुने अधिकांश सामानमा १५ प्रतिशत आधारभूत भन्सार दर लागू हुनेछ ।
कहिलेदेखि लागू हुन्छ ?
यो आदेश प्रकाशित भएको सात दिनपछि शुल्क कटौती कार्यान्वयन हुनेछ । तर केही वस्तुमा यो कटौती गत अगस्त ७ बाटै लागू भइसकेको छ ।
जापानी लगानी – सम्झौताअनुसार जापानले अमेरिकामा करिब ५५० अर्ब डलर बराबरको लगानी गर्नेछ । जसमा पूर्वाधार, ऊर्जा, प्रविधि, ऋण र इक्विटी सामेल हुनेछ ।
अमेरिकी निर्यात विस्तार– जापानले अमेरिकी चामल, मकै, सोयाबिन, मल, बायो–इथानोल आयात बढाउनेछ भने अमेरिकी विमान र रक्षा उपकरण खरिद गर्ने प्रतिबद्धता जनाएको छ ।
अन्य एसियाली साझेदारसँग बलियो सम्बन्ध नभइरहेका बेला जापानसँग सम्बन्ध सुदृढ गरेर ट्रम्प प्रशासनले एशियामा व्यापारिक सहयोगलाई गहिरो बनाउने संकेत दिएको छ ।
चीनसँगको बढ्दो प्रतिस्पर्धा र व्यापार तनावबीच अमेरिका–जापान सहकार्यले एशियामा शक्ति सन्तुलनलाई नयाँ रूप दिन सक्छ ।
ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशले तत्काल आर्थिक लाभ मात्र नभई, दीर्घकालीन रूपमा अमेरिका–जापान सम्बन्धलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।







