
सरकारले औपचारिक निर्णय गरेसँगै फेसबुक, युट्युबसहितका २६ वटा सामाजिक सञ्जाल क्रमशः बन्द हुन थालेका छन् ।
नेपाल टेलिकम र एनसेलसहित इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले फेसबुक बन्द गरेका छन् । वल्र्डलिंकको आईपी एड्रेसबाट फेसबुक चल्न छाडेको छ ।
इन्टरनेट सेवा प्रदायक संघले सरकारको पत्र प्राप्त भएसँगै बन्द गर्ने प्रक्रिया सुरु भएको र सबै इन्टरनेट सेवा प्रदायकबाट बन्द गर्न केही समय लाग्ने जनाएको छ ।
यसैगरी नेपाल टेलिकम र एनसेलले पनि सरकारको निर्देशनलगत्तै दर्ता नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ ।
नेपाल टेलिकमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०८२/०५/१९, च.नं. ५९७ को पत्रबाट श्री सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन यस कम्पनीलाई लेखी आएकाले सोही निर्देशन बमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’
बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको भदौ ५ गतेको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णय र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० लाई आधार मान्दै २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको थियो ।
योसँगै नेपालमा सामाजिक सञ्जालहरू फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स (ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिसकोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई बन्द गर्ने निर्णय गरेको थियो ।







