
जापानको राजधानी टोकियोमा जापानमा पालना गर्नुपर्ने नियम, कानुन र सुरक्षासम्बन्धी बृहत गोष्ठी आयोजना हुने भएको छ ।
नेपाली राजदूतावास टोकियो, टोकियो महानगर प्रहरी विभाग तथा गैर–आवासीय नेपाली संघ (एनआरएनए) जापानको संयुक्त आयोजनामा एक गोष्ठीको आयोजना गर्न लागिएको हो ।
जापानमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै कार्यक्रमको आयोजना गर्न लागिएकाले जापानका नियम, कानुन र सुरक्षाका विषयमा केन्द्रित रहने आयोजकले जनाएको छ ।
आगामी शनिबार अर्थात् ३० अगस्ट २०२५मा Meguro Persimmon Hall (1-1-1 Yakumo, Meguro-Ku, Tokyo) मा हुने गोष्ठी साँझ ६ : १५ बजे सुरु हुनेछ ।
जापानमा बसोबास गर्ने नेपाली नागरिक तथा विद्यार्थीहरूका लागि कार्यक्रम अत्यावश्यक भएकाले सहभागी भएर आवश्यक जानकारी लिन पनि आयोजक संस्थाहरूले आग्रह गरेका छन् ।
कार्यक्रममा जापानको कानुनी प्रक्रिया, सुरक्षा व्यवस्था, आप्रवासन नीति लगायतका विषयमा जानकारीमूलक प्रस्तुतिहरू रहनेछन् । यसबाट जापानबारे रहेका जिज्ञासाको समाधान गर्न र जापानको सामाजिक तथा कानुनी प्रणालीबारे बुझ्न सहयोगी हुने आयोजकको विश्वास छ ।








