टोकियो । जापान सरकारले विदेशी उद्यमीहरूका लागि दिइने व्यवसाय व्यवस्थापन भिसा (経営・管理ビザ) का शर्तहरू कडा बनाउन लागेको छ।
हाल यो भिसा पाउनका लागि ५० लाख येनभन्दा बढी पूँजी देखाउनुपर्ने वा २ जना स्थायी कर्मचारी राख्नुपर्ने शर्त थियो। तर अब, आवश्यक पूँजीलाई ६ गुणा बढाएर ३०००万円 (३ करोड येन) गरिनेछ। साथै, कम्तीमा १ जना स्थायी कर्मचारी नियुक्त गर्नुपर्ने शर्त पनि अनिवार्य हुनेछ।
यससँगै, आवेदनकर्तासँग ३ वर्षभन्दा बढी व्यवस्थापन अनुभव वा व्यवस्थापन सम्बन्धी मास्टर डिग्री हुनुपर्नेछ। साथै नयाँ व्यवसाय योजनालाई प्रमाणित लेखापाल वा व्यवसाय परामर्शदाताले जाँच गरेको हुनुपर्नेछ।
पछिल्ला तथ्यांकअनुसार, सन् २०२४ मा यो भिसा लिने विदेशीहरूको संख्या करिब ४१ हजार पुगेको छ, जुन ५ वर्षअघि भन्दा ५०% बढी हो। तर, वास्तविक व्यवसाय नगरी पेपर कम्पनीमार्फत जापान बस्ने विदेशीहरू बढेको भन्दै आलोचना भइरहेको छ।
दक्षिण कोरियामा यस्तो भिसाका लागि करिब ३ करोड २० लाख येन बराबर पूँजी चाहिन्छ भने, अमेरिकामा पनि १.५ देखि ३ करोड येन बराबर शर्त छ। जापानका शर्तहरू अन्तर्राष्ट्रियस्तरमा सजिलो मानिँदै आएको थियो।
विशेषज्ञहरूले भने यो कडाइले अनुचित बसाइ रोक्ने भए पनि, साच्चै व्यवसाय गर्न चाहने विदेशी उद्यमीलाई निरुत्साहित गर्न सक्छ भन्ने चिन्ता व्यक्त गरेका छन्।







