जापानको क्युशूमा पुग्यो उष्णकटिबन्धीय तुफान लिंगलिंग

जापानमा आएको उष्णकटिबन्धीय तुफाल लिंगलिंगले क्युशू क्षेत्रमा जनजीवन प्रभावित बनेको छ । आँधीका कारण त्यहाँको बुलेट रेल सेवा समेत प्रभावित हुँदा यात्रुहरु मर्कामा परेका छन् ।

आँधीका कारण आएको मुसलधारे वर्षाका कारण कुमामोतो र कागोशिमाचुओ स्टेशनबीचको रेल सेवा स्थगित गर्नुपरेको हो । यो जापानमा यसवर्ष आएको १२औं आँधी हो ।

आँधीका कारण दुई साताअघिमात्रै आएको भीषण बाढीपहिरोबाट प्रभावित भएका मानिसलाई थप समस्या भएको छ । स्थानीय अधिकारीहरुले आँधीको प्रभाव अझै कायम रहेकाले शुक्रबार साँझसम्म सतर्कता अपनाउन आग्रह गरेका छन् ।

जापान मौसम अधिकारीहरुका अनुसार लिंगलिंगका कारण बिहीबार पनि पटक पटक पानी परेको थियो । अधिकारीहरुले कागोशिमा प्रिफेक्चरमा घना कालो बादल छाउने र वर्षा हुने सम्भावना रहेको जनाएका छन् ।

केही क्षेत्रमा भूस्खलनको चेतावनी समेत जारी गरिएको छ । मौसम अधिकारीहरुले भूस्खलन, तल्ला क्षेत्रमा बाढी र नदीको सतह बढ्ने खतरा रहेकाले सतर्क रहन अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?