साइतामामा ढलमा खसेर ४ जना कामदारको मृत्यु

जापानको टोकियोको उत्तरी क्षेत्रमा रहेको साइतामा प्रिफेक्चरमा शनिबार ढल पाइपको निरीक्षणका क्रममा चार कामदारको पाइपभित्र खसेर मृत्यु भएको छ ।

दुर्घटना भएको स्थान वरपर रंगहीन अत्यन्त विषाक्त ग्यास हाइड्रोजन सल्फाइड पत्ता लागेपछि प्रहरीले घटनासँग यो ग्यासको सम्बन्ध छ कि छैन भनेर अनुसन्धान गरिरहेको छ ।

शनिबार बिहान करिब ९ः२५ बजे म्यानहोलमा एक व्यक्ति खसेको र उनलाई निकाल्न गएका अन्य तीन जना समेत त्यही म्यानहोलमा खसेको खबर प्रहरीलाई आएको थियो ।

करिब पचास वर्ष उमेर समूहका यी चार पुरुष करिब ६० सेन्टिमिटर चौडा र १२ मिटर गहिरो म्यानहोलमा खसेका थिए । यो म्यानहोल २.६ मिटर चौडा ढल पाइपसँग जोडिएको छ । जसको जडान सन् १९८१ मा गरिएको थियो ।

यो जेआर ग्योदा स्टेशनबाट करिब ४ किलोमिटर उत्तरपूर्वमा पर्छ । दुर्घटनाको समयमा नगर सरकारले नियुक्त गरेका सात जना कामदार निरीक्षणको तयारीका लागि ढलको काम गरिरहेका थिए ।

केन्द्रीय सरकारले साइतामा प्रिफेक्चरको याशियोमा जनवरी २८ मा देखा परेको ठूलो सिंकहोलको घटनापछि स्थानीय निकायहरूलाई आफ्नो ढल प्रणालीको आपतकालीन निरीक्षण गर्न आग्रह गरेको थियो ।

त्यसबेला एउटा सिंकहोलमा एउटा ट्रक र त्यसका चालक बेपत्ता भएका थिए । ती चालकको शव गत मे महिनामा फेला परेको थियो ।

यो घटनापछि सरकारले देशभर ३० वर्ष वा त्योभन्दा पुराना र २ मिटर वा ठूला व्यास भएका ढल पाइपहरूको निरीक्षण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?