जीवन सुवेदी/ टोकियो: गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ कार्यकालका लागि सम्पन्न निर्वाचनबाट सुभाष लामिछाने अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार सार्वजनिक मतपरिणाम अनुसार उनले ७,१५२ मत प्राप्त गर्दै आफ्ना प्रतिस्पर्धी सिद्धार्थ श्रेष्ठलाई १,९५९ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। श्रेष्ठले ५,१९३ मत प्राप्त गरेका थिए।
वरिष्ठ उपाध्यक्ष पदमा टिकाराम खरेल विजयी भएका छन्। उनले ६,४१८ मत ल्याउँदै आफ्ना प्रतिस्पर्धी कृष्ण गैरे शर्मालाई ४९१ मतले पछि पारे। शर्माले ५,९२७ मत प्राप्त गरे।
महासचिव पदमा श्याम कुमार श्रेष्ठ (श्याम शितल) निर्वाचित भएका छन्। उनले ६,३८४ मत प्राप्त गर्दै विश्वास गौतम (खगराज गौतम)लाई ४२३ मतको अन्तरले पराजित गरे। गौतमले ५,९६१ मत पाएका थिए।
उपाध्यक्षतर्फ मुक्तिराम खनाल (बिनोद), दिलिप कँडेल र दीपक सुनार निर्वाचित भएका छन्। यस्तै, क्षेत्रीय उपाध्यक्ष पदमा विष्णु प्रसाद सुवेदी (विश्व) विजयी भए।
सचिव (खुलातर्फ) पदमा नेत्र पाण्डे र दिल्लि प्रसाद सापकोटा विजयी भएका छन् भने क्षेत्रीय सचिवको जिम्मेवारी सागर कार्कीले पाएका छन्।
कोषाध्यक्ष पदमा मुक्तिराज रेग्मी निर्वाचित भए। साथै, क्षेत्रीय सह-कोषाध्यक्षमा सन्दीप जिसी र खुला सह–कोषाध्यक्षमा राम कँडेल विजयी भएका छन्।
युवा संयोजक पदमा दीपक बुर्जा मगरले जित हात पारेका छन्। निर्वाचन समितिका अनुसार, उल्लेखनीय सहभागिता रहेको यस निर्वाचन प्रक्रिया सफल र व्यवस्थित रूपमा सम्पन्न भएको थियो।
निर्वाचनपछिको प्रतिक्रियामा अध्यक्ष सुभाष लामिछानेले संस्थालाई थप पारदर्शी, सक्रिय र उत्तरदायी बनाउने प्रतिवद्धता व्यक्त गरे। उनले प्रवासी नेपालीहरूको हक–हित संरक्षणमा निरन्तर क्रियाशील रहने जनाएका छन्। लामिछाने सहितका विजेताहरुको जीतको खुसीयालीमा टोकियो स्थित शिन ओकुबोमा केहीवेर विजयउत्सव गरिएको थियो ।







