
मानिसले किराहरुको परिकार बनाएर खान्छन् भन्दा तपाईलाई अनौठो लाग्न सक्छ । तर विश्वमा केही यस्ता ठाउँ पनि छन्, जहाँ किराको परिकार खाने मात्रै होइन, रेस्टुरेन्टमा बेच्ने गरिन्छ ।
यस्तै एक किराको स्वादिष्ट परिकार पाक्ने रेस्टुरेन्ट जापानको राजधानी टोकियोमा रहेको छ । टोकियोको मुख्य सडकमा रहेको यो रेस्टुरेन्टमा किराका विभिन्न परिकार पाइन्छ ।
यो रेस्टुरेन्टमा झ्याउँकिरीबाट बनेको क्रन्ची रिसोट्टो, किराको जुस र खुम्रे किरासहितको टोफु मिठाई पाइन्छ ।
संसारमा किरालाई भोजनका रुपमा खाने मानिसहरुको संख्या बढिरहेको छ । यस्तै किराको भोजन गर्नेहरुलाई लक्षित गरी खोलिएको रेस्टुरेन्ट हो, टोकियोको ताके–नोको क्याफे रेस्टुरेन्ट । यो रेस्टुरेन्ट हप्तामा सातै दिन पूर्ण रुपमा भरिभराउ हुने गर्छ ।
त्यसो त जापानमा खानाको रूपमा किराहरू खाने परम्परा रहेको छ । ताके–नोकोका प्रबन्धक मिचिको मुइराले मासु र माछाको अभाव हुँदा फट्याङग्रा, रेशमकीरा खाने प्रचलन रहेको थियो ।
दोस्रो विश्वयुद्धको दौरान र त्यसपछिको खाद्य संकटका क्रममा किराका परिकारबाट अभाव पूर्ति गरिएको थियो ।
जापानमा राष्ट्रिय बेकरी ब्रान्ड पास्कोलगायत थुप्रै कम्पनीहरूले झ्याउँकिरीकोे पिठोबाट बनेका कुकिजहरू र केकहरू बेचेर खानामा किराको प्रयोगलाई पुनः निरन्तरता दिन सुरु गरेका छन् ।
किराहरु प्रोटिनयुक्त भएको हुँदा धुलो पारेर खानामा हाल्ने चलन रहे पनि ताके–नोकोले भने किरालाई त्यसैको स्वरुपमा राखेर खानाका रुपमा बेच्ने गरेको छ ।







