जापानमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि, जुनमा मात्रै २० लाख भित्रिए

कोरोना भाइरस नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटाएसँगै जापानमा पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ ।

जापानमा सन् २०२३ को पहिलो ६ महिनामा मात्रै १ करोडभन्दा बढी विदेशी नागरिकले भ्रमण गरेका छन् ।

सन् २०१९ मा कोरोना महामारी सुरु भएपछि जापानमा आएका पर्यटकको यो रेकर्ड संख्या हो । जापान राष्ट्रिय पर्यटन संगठनले गत जुनमा मात्रै २० लाखभन्दा बढी पर्यटक आएको र यो फेब्रुअरी, २०२० पछिकै सबैभन्दा बढी भएको जनाएको छ ।

सन् २०२३ को पहिलो ६ महिनामा सबैभन्दा बढी दक्षिण कोरियाली पर्यटकहरु आएका छन् । दक्षिण कोरियाका ३१ लाख पर्यटक आउँदा ताइवानबाट १७ लाख पर्यटक जापान पुगेका छन् ।

यस्तै अमेरिकाबाट ९ लाख ७० हजार पर्यटक जापान घुम्न आएका छन् । चीनले भने जापानमा सामूहिक भ्रमणका लागि अनुमति नदिएका कारण अपेक्षाकृत रुपमा चिनियाँ पर्यटकहरु जापान गएनन् ।

कोरोना सुरु हुनुअघि सन् २०१९ मा ३ करोड २० लाख पर्यटक घुम्नका लागि जापान पुगेका थिए ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले पर्यटकको संख्या बढेसँगै अर्थतन्त्रमा टेवा पुग्ने र पर्यटन उद्योगबाट ५ ट्रिलियन येन बराबर अर्थतन्त्रमा सहयोग पुग्ने उनको विश्वास छ ।

जुन महिनामा २.०७ मिलियन पर्यटक जापान आएका छन् । त्यसअघि मे महिनामा १.९ मिलियन पर्यटकले जापान भ्रमण गरेका थिए ।

अमेरिका, युरोप, अस्ट्रेलिया र मध्यपूर्वबाट जापान आउने पर्यटकको संख्या सन् २०१९ को भन्दा बढेको छ ।

जापानको पर्यटनको सबैभन्दा ठूलो हिस्सा चिनियाँ पर्यटकको हुन्छ । तर चिनियाँ पर्यटकको संख्या सन् २०१९ मा कोभिड सुरु हुनुभन्दा अघिको तुलनामा निकै कम देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?