पूर्वोत्तर जापानमा रेकर्ड वर्षा, भूस्खलनको चेतावनी

पूर्वोत्तर जापानमा भारी वर्षा हुँदा केही क्षेत्रमा बाढी आउनुका साथै भूक्षयको खतरा बढेको छ ।

मौसम विभागका अनुसार जापान सागरसँग जोडिएको तटीय इलाकामा मुसलधारे वर्षा भएको छ । आइतबार बिहानैदेखि आकिता र इवाते प्रिफेक्चरमाथि कालो बादल छाएको थियो ।

आकिता सहरमा आइतबार दिउँसोसम्म मात्रै ४८ घन्टामा २५२.५ मिलिमिटर वर्षा मापन गरिएको छ ।

आकिता हुँदै बग्ने एक नदीको पानी तटबन्धभन्दा माथि आएपछि सहर र आसापसका इलाकामा समेत बाढी आएको छ । आकिता प्रिफेक्चरका केही अन्य साना नदीको जलस्तर पनि अत्यधिक बढेको छ ।

आकिता सहरको ताइहेइजानमा २४ घन्टामा ३३२.५ मिलिमिटर वर्षा भएको छ । यो अवधिमा फुजिसातोमा २८९.५ मिलिमिटर र हाप्पेमा २२९ मिलिमिटर वर्षा मापन गरिएको छ । यहाँ अहिलेसम्मकै रेकर्ड वर्षा भएको छ । जुन पुरै जुलाई महिनामा हुने औसत वर्षाभन्दा अधिक हो ।

यसका साथै इवाते प्रिफेक्चरको निशिवागा नगरको एक हिस्सामा आइतबार ४८ घन्टासम्ममा ३०१.५ मिलिमिटर वर्षा भएको छ । जुन सन् २०१७ पछिको सबैभन्दा भारी वर्षा हो ।

खतरा बढेपछि आकिता र इवाते प्रिफेक्चरका केही क्षेत्रमा भूस्खलनको चेतावनी जारी गरिएको थियो । मौसम अधिकारीहरुले वर्षा केही कम भए पनि साना नदीको पानी ठूला नदीमा मिसिने र यसले केही समय ती क्षेत्रमा क्षतिको खतरा कायमै रहने जनाएका छन् ।

पूर्वोत्तर जापानमा वर्षा जारी रहने आशंका गरिएको छ । यी क्षेत्रमा सोमबार दिउँसोसम्म २४ घन्टामा ६० मिलिमिटरभन्दा बढी वर्षा हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?