जापान जाँदै हुनुहुन्छ ? अब कपडा बोकिरहनु पर्दैन है !

तपाईं कतै भ्रमणमा जाँदै हुनुहुन्छ भने त्यो अवधिभर लगाउने कपडा पनि साथमै बोक्नुपर्ने हुन्छ । जसले गर्दा तपाईंको लगेज ठूलो हुने गर्छ । जहाँ पुग्यो त्यही कपडा किनिहाल्न नसकिने भएकाले यसको समाधान पनि त छैन नि ।

तर तपाईं जापान जाँदै हुनुहुन्छ भने खुसीको खबर छ । अब जापान एयरलाइन्स (जेएएल) ले यात्रुले आफ्ना कपडा बोकेर जानु नपर्ने गरी ‘लुगा भाडा कार्यक्रम’ सुरु गरेको छ ।

हो, अब जापान पुगेपछि यात्रुहरूले लुगा भाडामा लिन सक्छन् र जापानमा जति दिन बस्छन् त्यही कपडा प्रयोग गरेर फर्कन पाउनेछन् ।

जेएएलको यो कार्यक्रमले सबैभन्दा बढी बारम्बार जापान आउने यात्रुहरूलाई फाइदा पुग्नेछ । उनीहरुले कपडाहरु धेरै बोकिरहनुपर्ने छैन ।

जापान एयरलाइन्स र जापानको एक प्रसिद्ध कम्पनी, सुमितोमो कर्पोरेसनले जेएएल उडानहरू प्रयोग गर्ने र सेवा प्रयोग गर्नु पछाडिको ‘वातावरणीय मूल्य’ बुझ्नेहरूका लागि ‘एनी वेयर एनी ह्वेयर’ परीक्षण कार्यक्रम सुरु गरेको हो ।

जेएएलले विज्ञप्ति जारी गर्दै कोभिड–१९ को महामारीपछि धेरै मानिसले फेरि उडान प्रयोग गर्न थालेको भन्दै नयाँ योजना पनि अघि सारेको हो ।

यो योजना यात्रुहरूले कपडा, खाना र आवास जस्ता सबै कुराको लागि स्थानीय विकल्पहरू प्रयोग गर्ने अवसर पाउन भन्ने उद्देश्यले सुरु गरिएको हो । एयरलाइन्सले भाडामा उपलब्ध कपडाको स्टक राख्नेछ ।

विज्ञप्तिमा यात्रुहरूको चेक–इन गरिएको सामानको वजनमा भएको परिवर्तनको अनुगमन गरिने र परीक्षणको प्रभावलाई हेरिने उल्लेख छ । यस्तो सेवाले जहाजको वजनमा कमी आउने तथा त्यसबाट कार्बनडाइअक्साइड उत्सर्जनमा कमीलाई प्रमाणित गर्ने एयरलाइन्सको विश्वास छ ।

जापान आउने यात्रुहरूले आफ्नो यात्राको एक महिनाअघि नै ‘एनिवेयर एनिह्वेयर’ बुकिङ साइटमार्फत लुगाहरू बुक गर्न पाउनेछन् । सोही अनुसार उनीहरुको छनोट अनुसार भ्रमणको उद्देश्य र मौसम अनुरूपका कपडा उपलब्ध गराइनेछ ।

लुगाको भाडा मूल्य करिब २८ डलरबाट सुरु हुनेछ । तर यसरी लिइएका कपडाहरु लिएको दुई सातामा फिर्ता गर्नुपर्नेछ ।
एयरलाइन्सका अनुसार ट्रायल कार्यक्रम ३१ अगस्ट २०२४ सम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?