
जापानको होक्काइदोस्थित साप्पोरोको चुओ वार्डमा रहेको एक होटलमा वीभत्स रुपमा हत्या गरेको अवस्थामा एक पुरुषको शव फेला परेको छ ।
होटलको कोठामा २ जुलाईमा एक पुरुषको शब टाउको काटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ । होक्काइदो प्रहरीले ३ जुलाईमा साप्पोरो चुओ प्रहरी चौकीमा अनुसन्धान मुख्यालय स्थापना गरी पुरुषको वीभत्स हत्या गरी शव छाड्नेको खोजी तथा अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।
होटलको सीसीटीभी क्यामेरामा एक व्यक्ति टाउको बिनाको शव भेटिएका व्यक्तिसँगै प्रवेश गरेको र घटनापछि एक्लै निस्किएको देखिएको बताइएको छ । प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।
प्रहरीका अनुसार जुलाई २ तारिख दिउँसो करिब ३ बजेतिर दोस्रो तलाको अतिधि कक्षको बाथरुममा शव फेला परेको हो ।
मृतकको घाँटीमा रहेको निशानाले चक्कुले घाँटी काटिएको संकेत मिलेको प्रहरीले उल्लेख गरेको छ । तर प्रहरीले टाउको काट्न प्रयोग गरिएको कुनै पनि हतियार फेला पारेको छैन ।
मृतकको कुनै फोन तथा व्यक्तिगत सामानहरु समेत फेला नपरेको र उनीसँग कोठामा प्रवेश गर्ने व्यक्तिले मृतकको पहिचान हुन नदिन सबै परिचय खुल्ने सामानसहित टाउको समेत लगेको हुनसक्ने प्रहरीको आशंका छ ।
मृतक व्यक्ति ४५ वर्षमाथिको रहेको र १६० देखि १७० सेन्टिमिटर अग्लो रहेको बताइएको छ ।
पोस्टमार्टममा काटिएको भागका साथै शरीरका अन्य भागमा समेत चोट भेटिएकाले घातक आक्रमण भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीले ती व्यक्तिको मृत्युपछि टाउको काटिएको हुनसक्ने अनुमान गरेको छ ।







