
जापानमा जुलाई २२ र २३ तारिख अर्थात साउन ६ र ७ गते नेपाल फेस्टिबल आयोजना गरिने भएको छ ।
नेपालको पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउन विगत १२ वर्षदेखि नेपाल फेस्टिबल आयोजना गरिदै आएको छ ।
गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानले टोकियोमा पत्रकार सम्मेलन गर्दै जापानमा नेपाल चिनाउने उद्देश्यका साथ आयोजना हुँदै आएको फेस्टिबलको मिति घोषणा गरेको हो ।
जापानी नागरिकलाई नेपाल घुम्न जान तथा उनीहरुलाई नेपाल चिनाउने उद्देश्यले फेस्टिवलको आयोजना गरिएको फेस्टिबलकी उपसंयोजक संगीता अधिकारीले जानकारी दिइन् ।
फेस्टिवलमा नेपाली खाना, कला र संस्कृतिसँगै सिंगो नेपाल चिनाउने कोशिस हुनेछ । विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान् गौतम बुद्धको जन्मभूमि नेपाल भनेर जापनी नागरिकलाई नेपाल चिनाउने प्रयास गर्ने उनको भनाई छ ।
फेस्टिवलको आकर्षण नेपालको हिमालदेखि तराईसम्मका ११ वटा जातजातिको भेषभुषासहित झाँकीको प्रस्तुति, लोकभजन, पञ्चेबाजा, जापानी कलाकारको प्रस्तुति रहनेछ ।
नेपालको परम्परा, धर्म र संस्कृति झल्कने मन्दिर अथवा घरको निर्माण गरिने फेस्टिबल संयोजक तथा एनआरएन जापानका अध्यक्ष शिवप्रसाद पौडेलले जानकारी दिए । फेस्टिवलमा अनुमानित १ करोड ५० लाख येन खर्च हुनेछ ।
एनआरएन जापानले लामो समयसम्म घाटा सहेर भएपनि फेस्टिबलको आयोजना गर्दै आएको रहेको आर्थिक संयोजक नविन निउरेले जानकारी दिए । गतवर्ष पहिलो पटक फेस्टिवल नाफामा गएको भन्दै यसवर्ष पनि नाफामा लाने आफूहरुको लक्ष्य रहेको उनले बताए ।
फेस्टिबलमा २६ वटा व्यापारिक स्टल रहनेछन् । जसमा १० वटा नेपाली खानाको, १२ वटा व्यापारिक तथा ४ आयोजकको प्रयोजनका लागि रहनेछन् ।
गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानले सन् २०१२ देखि जापानमा नेपाल फेस्टिबलको आयोजना गर्दै आएको छ ।







