
जापानको राजधानी टोकियोमा रहेको व्यस्त रेलभित्र नांगो चक्कु बोकेका व्यक्ति भेटिएपछि भागदौड मच्चिएको छ ।
नांगो चक्कु बोकेका व्यक्ति भेटिएपछि रेलमा भागदौड मच्चिएको थियो । शिन्जुकु रेलस्टेशनमा चक्कुसहितका व्यक्ति देखेपछि यात्रुहरु आत्तिएर ओर्लिएका थिए । सो क्रममा तीन जना घाइते भएका छन् ।
प्रहरीलाई यामानोतो रेलको शिन्जुकु स्टेशनमा चक्कु लिएर एक व्यक्ति रेलमा यात्रा गरिरहेको भन्दै प्रहरीलाई आपतकालीन फोन गएको थियो । प्रहरीले चक्कुधारी विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका करिब ५० वर्षीय व्यक्तिले आफू कुक भएको र कामबाट घर जाने क्रममा तौलियामा बेरेर चक्कु बोकेको प्रहरीसमक्ष बयान दिएका छन् ।
उनले चक्कु छोप्न तौलिया प्रयोग गरिरहेको र निद्रामा परेका बेला तौलियाबाट चिप्लिएर चक्कुको केही भाग बाहिर देखिएको बताएका छन् ।
ती व्यक्ति २५ देखि २७ सेन्टिमिटरका दुई चक्कु लिएर बसेका थिए । ती व्यक्ति चक्कुसँगै देखिए पनि कसैले पनि उनले चक्कु गलत प्रयोग गर्न खोजेको नदेखृेको बताएका छन् ।
पूर्वी जापान रेलवेले एक यात्रुले शिन्जुकु स्टेशनमा आइपुग्नुअघि नै आपतकालीन बटन थिचेको बताएको छ । टोकियो फायर डिपार्टमेन्टका अनुसार बाहिर निकाल्ने क्रममा लडेर तीन जना घाइते भएका हुन् ।
सो घटनाका कारण यामानोते लाइनका रेलहरु करिब २० मिनेट रोकिन पुगेका थिए । जसका कारण करिब १४ हजार यात्रुहरु प्रभावित हुन पुगेका थिए ।







