इन्डोनेसियामा सम्राट र साम्राज्ञीले दिए पूर्वजापानी सैनिकलाई श्रद्धान्जली

जापानका सम्राट नारुहितो र साम्राज्ञी मासाकोले इन्डोनेसियाको स्वतन्त्रताका लागि लड्ने सैनिकहरुको कब्रस्थानमा गएर श्रद्धान्जली अर्पण गरेका छन् ।

दोस्रो विश्वयुद्धपछि इन्डोनेसियामा बसेका तत्कालीन शाही जापानी सेनाका केही सैनिकको कब्र पनि यो स्थानमा रहेको छ ।

शाही दम्पतिले आफ्नो ७ दिने राजकीय भ्रमणका क्रममा मंगलबार जकार्ताको उपनगरस्थित कालीबाता हिरोज कब्रस्तानको भ्रमण गरेका थिए ।

डच साम्राज्यविरुद्ध इन्डोनेशियाका तर्फबाट लडेका लगभग एक हजार जापानी सैनिकमध्ये आधा सैनिक चार वर्ष चलेको युद्धका क्रममा मारिएका थिए ।

सम्राट र साम्राज्ञीले एक स्मारकका सामू मौनधारणसहित श्रद्धान्जली दिँदै पुष्प अर्पण गरेका थिए । सम्राटले आगन्तुक पुस्तिकामा सन्देश पनि लेखेका छन् ।

कब्रस्थान जानुअघि सोमबार साँझ पूर्वजापानी सैनिकका वंशजसँग कुराकानी गरेका थिए । सम्राटले पूर्वसैनिक र उनीहरुका परिवारले युद्धपछि झेलेको कठिनाईप्रति आफ्नो सहानुभूति प्रकट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?